काठमाण्डु, २१ असोज – बडादशैं मनाउने सिलसिलामा सडकमार्ग हुदै १० लाख भन्दा बढी मानिस काठमाण्डु उपत्यकाबाट बाहिरिएका छन् । यही असोज १ देखि असोज २० गतेसम्म १० लाख १७ हजार मानिस दशैं मनाउने सन्दर्भमा उपत्यका बाहिर हिँडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख केशव अधिकारीले बताए ।
हाल थानकोट नाकाबाट मात्रै दैनिक एक हजार आठ सय सार्वजनिक यातायात सेवाका बस यात्रु लिएर गुडेको महाशाखाले जनाएको छ । त्यस्तै चोभार, नुवाकोट र साँगाभन्ज्याङबाट समेत गरी दैनिक तीन हजार सार्वजनिक यातायातका साधन उपत्यकाबाट यात्रु लिएर बाहिरिने गरेका छन् । दशैंको मुख्य दिन फूलपाती, अष्टमी र नवमीका दिनमा एक लाख ६७ हजार यात्रुले विशेषगरी घर जान टिकट अग्रिम सुरक्षित गरिसकेका छन् ।
मुख्य चाडबाडका मुखमा हुने यात्रालाई भरपर्दो, सुरक्षित र सहज तुल्याउन महाशाखाले नाकामा बढी यात्रु राख्ने, दोहोरो टिकट काट्ने तथा यात्रुलाई असुविधा हुने खालका क्रियाकलाप रोक्न कडा निगरानी गरेको छ । त्यसका लागि नागरिक ट्राफिक प्रहरीले उपत्यकाका एक दर्जन स्थानमा नागरिक सहायता कक्ष स्थापना गरी यात्रुको हितका लागि काम गर्दै आएको जनाइएको छ । यात्रुले असुविधा भोग्नुपरेका उजुरी दैनिक ५० को हाराहारीमा आउने गरेको र उजुरीअनुसार कारबाहीको प्रक्रिया पनि जारी रहेको बताइएको छ ।
९४ चालकलाई सार्वजनिक अपराधको मुद्दा
यसैबीच असोज महिनाको सुरुदेखि हालसम्म दिउँसो मादक पदार्थ सेवन गरी सवारी चलाउने ९४ चालकलाई सार्वजनिक अपराधसम्बन्धी मुद्दा चलाइएको पनि ट्राफिक प्रहरीले जनाएको छ ।
दशैंको चहलपहलसँगै काठमाण्डुका मुख्य स्थलमा मानिसको चहलपल र किनमेलको घुइँचो बढेका कारण ‘ट्राफिक जाम’ बढेको छ । ‘सपिङ मल’, ‘डिपार्टमेन्टल स्टोर’ तथा ‘फुटपाथ’मा समेत सामानको किनबेचको क्रम बढेकाले पनि राजधानीमा केही दिनयता यातायात सवारीको चापका कारण सर्वसाधारणले कठिनाइ भोग्नुपरेको छ । रासस