

धनगढी, २१ असोज–कैलालीको धनगढीमा सदूरपश्चिमस्तरीय सुरक्षा गोष्ठी सोमबार शुरु भएको छ । संविधानसभालाई लक्षित गरी अपनाउनु पर्ने सुरक्षा रणनीति तय गर्न गोष्ठी आयोजना गरिएको हो ।
सोमबारै सकिने गोष्ठीले सुदूरपश्चिमको सुरक्षा अवस्थाको समिक्षा गरी अपनाउनु पर्ने रणनीति तय गर्ने छ । गोष्ठीमा गृहमन्त्री माधव घिमिरे, गृहसचिव नविन घिमिरे, रक्षासचिव आत्माराम पाण्डे र तीनवटै सुरक्षा अंगका प्रमुख गोष्ठीमा सहभागी छन् ।
गोष्ठीको उदघाटन गर्दै गृहमन्त्री घिमिरेले चुनावकालागि परिपक्व ढंगले सुरक्षा योजना बनाइएकाले ढुक्क हुन सबैलाई आग्रह गरे । उम्मेदवारको सुरक्षाकालागि विशेष सुरक्षा व्यवस्था हुने उनको भनाई छ ।
चुनावमा सेना परिचालनकालागि गलत हल्ला चलाइएको भन्दै गृहमन्त्री घिमिरेले नआत्तिन सबैलाई आग्रह गरे । नेपाली सेना सहयोगीको भरमा मात्रै परिचालन हुने उनको स्पष्टोक्ति थियो । चुनाव सफल पार्न सन्चार माध्यमको महत्वपूर्ण भूमिका हुने भन्दै उनले चुनावमैत्री सन्देश दिन सन्चारकर्मीलाई आग्रह गरे ।