आयोगले उम्मेदवारको नामावली प्रकाशित गर्दै

काठमाण्डु टुडे २०७० असोज २१ गते ५:०२ मा प्रकाशित

election commition of nepal
काठमाण्डु, २१ असोज–निर्वाचन आयोगले प्रत्यक्ष तर्फका उम्मेदवारहरुको नामावली सोमबार प्रकाशित गर्दैछ । उम्मेदवारहरु विरुद्ध परेका छानविन सकिएकाले सोमबार सूची प्रकाशन गरिने आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिए ।

उम्मेदवारहरुले नामावली फिर्ता लिन चाहे आयोगले मंगलबारसम्मको समय दिएको छ । उम्मेदवारहरुको अन्तिम नामावली भने बुधबार प्रकाशित गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ ।

मनोनयन दर्ता गराएका पाँचजना उम्मेदवारहरुको उम्मेदवारी भने आयोगले रद्ध गरेको छ । उमेर नपुगेको र पार्टीको आधिकारिक पत्र नभएको भन्दै आयोगले उम्मेदवारी बदर गरेको हो ।
पर्सा–३ का स्वतन्त्र उम्मेदवार आलोककुमार चौरसियाको उमेर नपेगेको, पर्सा–३ कै सदभावना पार्टीका उम्मेदवार सत्यनारायण प्रसादको पार्टीको आधिकारिक पत्र नभएको, नुवाकोट–२ एमाले उम्मेदवार बद्री मैनालीको पनि पार्टीको आधिकारिक पत्र नमिलेकाले उम्मेदवारी रद्ध गरिएको निर्वाचन आयोगका प्रवक्ता राईले जानकारी दिए । त्यस्तै धादिङ–२ बाट उम्मेदवार बनेका सुदन खाँड र कैलाली–४ का डिल्लीबहादुर विष्टका समर्थकको उमेर नपुगेकाले उनीहरुको पनि उम्मेदवारी रद्ध गरिएको छ ।

देशभरका २ सय ४० निर्बाचन क्षेत्रकालागि गत विहीबार ६ हजार ३ सय ५२ जनाले प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका थिए । मंसिर चार गते हुने दोस्रो संविधानसभा चुनाव आउन अब ४३ दिन मात्र बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us