मह महोत्सवमा दुई करोड ३० लाख कारोबार

काठमाण्डु टुडे २०७० असोज २१ गते १:१६ मा प्रकाशित

Honeyकाठमाण्डु, २१  असोज – ‘मह सेवन, स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ काठमाण्डुको राष्ट्रिय सभागृहमा भएको प्रथम राष्ट्रिय मह महोत्सवमा दुई करोड ३० लाख कारोबार भएको छ ।

यही असोज १७ गतेदेखि सुरु भएर आइतबारसम्म चलेको महोत्सवबाट मह मात्र बिक्री गरेर करिब एक करोड ८० लाख र मौरी तथा मौरीसँग सम्बन्धित उपकरण बिक्रीबाट करिब दुई करोड ३० लाखको कारोबार भएको नेपाल केन्द्रीय मह व्यवसायी संघका अध्यक्ष धर्मराज श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार महोत्सवमा ५५ हजारले अवलोकन गरेका थिए । महोत्सवमा प्रतिकेजी ३ सय ५० देखि ३ हजार ५ सय रुपैयाँसम्म महको मूल्य रहेको थियो ।

कृषि विकास मन्त्रालय र नेपाल केन्द्रीय मह व्यवसायी संघलगायतका संघसंस्थाद्वारा आयोजित महोत्सवमा नेपालका विभिन्न स्थानमा उत्पादन भएका शुद्ध महका ५० वटा बिक्री कक्ष, मह र मौरीजन्य वस्तुसम्बन्धी रोचक र जानकारीमूलक प्रस्तुति र मौरीजन्य अन्य उत्पादनको प्रदर्शन गरिएको थियो  ।

विक्रम संवत् २०५१ मा युरोपियन जातको मेलिफेरा नामक मौरी आयात गरेपछि नेपालमा मौरीपालन व्यावसाय व्यावसायिक रुपमा फस्टाउँदै गएको छ । हाल नेपालमा वार्षिक १६ लाख किलो (१ हजार ६०० मेट्रिक टन) मह उत्पादन भइरहेको छ भने बाँकी मह छिमेकी मुलुकबाट आयात भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us