भारतीय बजारमा नेपाली उपभोक्ताको घुइँचो

काठमाण्डु टुडे २०७० असोज २० गते ५:१६ मा प्रकाशित

दमक, २० असोज–नेपालीको मुख्य चाड बडादसैँ आगमनसँगै किनमेलका लागि पूर्वी सीमा भारतीय बजारमा केही दिनयता नेपाली उपभोक्ताको भीडभाड बढ्न थालेको छ । काँकडभिट्टा पूर्वको पानीट्याङ्की, अधिकारी, नक्साल, बाघडुग्रा, सिलगुढीलगायतका बजारमा नेपालीको चापले ती क्षेत्रको कारोबार बढेको छ । अन्य समयको तुलनामा स्वाभाविक रूपले यो बेला बजारमा कारोबार निकै नै बढ्ने गरेको व्यापारीहरू बताउँछन् ।

सरकारले चार हजार २ सय प्रकारका वस्तुमा भन्सार महसुल बढाएको छ, जसका कारण भारतीय बजारमा भन्दा नेपाली बजारमा स्वाभाविक रूपले सामानको मूल्य केही महँगो हुन्छ । सामान सस्तो भएकै कारण उपभोक्ताको आकर्षण बढेको देखिन्छ । प्रशासनले समेत चाडबाडको समय भनेर आँखा चिम्लिँदा नेपाली उपभोक्ताको चाप सीमाका भारतीय बजारमा हुने गरेको छ ।

पूर्वका दमक, विर्तामोड, सुरुङ्गालगायतका क्षेत्रका उपभोक्ताहरू दसैँमा चाहिने उपभोग्य वस्तु खरिद गर्न भारतीय बजार धाउने गर्छन् । दमककी शान्ति श्रेष्ठले यहाँको बजारभन्दा धेरै सस्तो सामान भारतीय बजारमा पाइने हुँदा यस्ता चाडपर्वमा ती स्थानमा खरिद गर्न जाने गरेको बताउनुभयो ।

धुलाबारी, काँकडभिट्टा, विर्तामोडजस्ता सीमाका नेपाली बजारमा दसैं तिहारमा खासै चहलपहल हुँदैन । भारतीय बजार नजिकै पर्ने हुँदा पनि ती क्षेत्रका बजारमा दसैँको चहलपहल नभएको स्थानीय उद्योगी, व्यवसायीहरू बताउँछन् ।

घरायसी प्रयोजनका लागि थोरै परिमाणमा सामान ल्याउन भन्सारले छुट दिने हुँदा सीमाका भारतीय बजारमा नेपाली उपभोक्ताहरू आकर्षित भएको सीमाका नेपाली व्यापारीहरूको भनाइ छ । सीमा खुल्ला छ, सामान ल्याउन खासै कडाई छैन, त्यसैले दैनिक ठूलो परिमाणमा सामान ढुवानी हुने गरेको काँकडभिट्टाका होटल व्यवसायी अर्जुन सुब्बाले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us