शरणार्थी शिविरमा व्यापार घट्दै

काठमाण्डु टुडे २०७० असोज २० गते १:५५ मा प्रकाशित

दमक, २० असोज–भुटानी शरणार्थी प्रभावित क्षेत्र झापा दमकको बेलडाँगी बजारमा सञ्चालित व्यवसायमा ह्रास आउन थालेको छ । भुटानी शरणार्थीहरुको बाक्लो बसाइ घट्नेक्रमसँगै सो क्षेत्रको कारोबारमा ह्रास आउन थालेको हो ।

गत वर्षको तुलनामा यस वर्ष आधाभन्दा धेरै व्यापार घटेको व्यवसायीले बताएका छन् । गत साल एक दिनमा रु तीन लाखसम्मको पेय पदार्थको कारोबार गरेका सिक्किम होटलका सञ्चालक खड्गबहादुर बुढाथोकीले अहिले दसैंको यो समयमा पनि १५ देखि २० हजार रुपैयाँभन्दा बढीको व्यापार हुन नसकेको बताए ।

दुई सयभन्दा बढी व्यक्तिको व्यवसाय सञ्चालन रहेको शरणार्थी क्षेत्रमा आधाभन्दा बढी कारोबारमा कम भएको भीम मनी ट्रान्सफरका सञ्चालक भीम भट्टराईको भनाइ छ । गत वर्ष दसैंको यो समयमा भट्टराईले दिनमा ५० देखि ६० वटा विप्रेषणबाट १० देखि १२ लाखसम्मको कारोबार हुने गरेकोमा यस वर्ष त्यसको आधाभन्दा कम कारोबार भइरहेको उनले जानकारी दिए ।

व्यवसाय गरेर जीविकोपार्जन गर्न व्यवसायीले अब व्यवसायको सङ्ख्यालाई भन्दा सञ्चालनमा आएका व्यवसायलाई व्यवस्थित गर्नु आवश्यक रहेको बेलडाँगी बजार समितिका अध्यक्ष नैनसिंह भण्डारीले जोड दिए ।व्यवसायीको सङ्ख्या र महँगीलाई नियन्त्रण गर्दै सञ्चालित व्यवसायलाई प्रवद्र्धन गर्न सरोकारवालाहरुले ध्यान दिन जरुरी रहेको व्यवसायीहरुको भनाइ रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us