उम्मेदवारी दर्ता उत्साहजनक – दलहरु दसैँमा चुनावी प्रचारमा

काठमाण्डु टुडे २०७० असोज १९ गते १०:२७ मा प्रकाशित

काठमाण्डु–प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारी मनोनयनसँगै मुलुक मङ्सिर ४ का लागि तोकिएको संविधानसभा निर्वाचनमा होमिएको छ ।
सरकार, निर्वाचन आयोग, राजनीतिक दल तथा अन्तर्राष्ट्रिय समुदायको समर्थन र सहयोगसँगै चुनावका मुख्य सरोकारवाला राजनीतिक दलको उम्मेदवार मनोनयनमा देखिएको उत्साहले निर्वाचनका लागि थप ऊर्जा प्रदान गरेको छ ।
खासगरी नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाको असन्तुष्टि एवम् निर्वाचन बहिष्कारको घोषणाले चुनाव होला र भन्ने आशङ्का मानिसमा विद्यमान रहे पनि शान्तिपूर्ण ढङ्गले सकिएको उम्मेदवार मनोनयको लहरसँगै दलहरुमा देखिएको उत्साहले चुनावको माहोललाई तताएको छ । अब निर्वाचनको विषयलाई लिएर टिका–टिप्पणी गर्नुपर्ने अवस्था स्वतः अन्त्य भएको छ ।
संविधानसभाको निर्वाचनमा पहिलो निर्वाचित हुने निर्वाचनमा देशभरका २४० निर्वाचन क्षेत्रमा ६ हजार ३५२ ले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये एक हजार स्वतन्त्र, एक जना तेस्रोलिङ्गी, ५९१ महिला र पाँच हजार ७६१ पुरुष रहेको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले बताए । अघिल्लो संविधानसभाको निर्वाचनमा तीन हजार ५७८ पुरुष, ३६८ महिला गरी तीन हजार ९४६ जना चुनावी मैदानमा थिए ।
उम्मेदवारहरुका लागि आयोगले २४ गते निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ । त्यस्तै आयोगमा दर्ता भएका १३० दलमध्ये १२४ ले समानुपातिकतर्फको निर्वाचनमा भाग लिने जनाए पनि १२२ दलले मात्र आफ्नो उम्मेदवारी सूची आयोगमा बुझाएका छन् ।
पहिलो हुने निर्वाचित हुने निर्वाचनअन्तर्गत बिहीबार सबै निर्वाचन क्षेत्रमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
चुनाव चिह्नको वितरणसँगै दलहरु चुनावी प्रचारको अभियानमा जुट्नेछन् । दसैँ तिहारजस्ता चाडपर्वको आगमनसँगै दलहरु अब चुनाव चिह्न लिएर निर्वाचनको प्रचारप्रसारको साइत गर्ने तर्खरमा छन् ।
यसपटक दलहरुले दसैँको रौनकलाई चुनावी प्रचारको अभियानका रुपमा लिने अब पक्कापक्की भएको छ । केही समय उम्मेदवार छान्नमा अहोरात्र जुटेका दलहरु अब प्रत्यक्ष र समानुपातिकको उम्मेदवार टुङ्गो लगाइसकेकाले थाती रहेको चुनावी घोषणापत्र तयारी कार्य सकेर आम जनतामाझ त्यसलाई लिएर चुनावी प्रचारको तीव्र अभियानमा जुट्ने भएका छन् ।
वामपन्थी विश्लेषक झलक सुवेदी उम्मेदवारी दर्ता शान्तिपूर्ण र सहज रुपमा सम्पन्न भएकाले यसले चुनावको माहोल बनाउनुका साथै चुनाव पनि शान्तिपूर्ण हुने सुनिश्चितता प्रदान गरेको बताउछन ।
“केही स्थानमा भएका छिटफुट घटनाले सुरक्षा चुनौती देखिए पनि ती घटना निर्वाचनसँग जोडिएर आएको हो होइन अनुसन्धान हुनुपर्छ”, विश्लेषक सुवेदी भन्छन ।
थ्रेसहोल्ड नराख्दाको परिणाम दलहरुको सङ्ख्या बढ्न गई उम्मेदवारको सङ्ख्यामा पनि अघिल्लो वर्षको दाँजोमा दोब्बर बढेको बताउँदै उनले स्थानीय निकायको निर्वाचन नहुनाले पनि यसपालि उम्मेदवारको सङ्ख्या बढेको बताए ।
अघिल्लो वर्ष ५४ राजनीतिक दलले निर्वाचनमा भाग लिएकामा २५ दल संविधानसभामा पुगेका थिए । यो वर्ष आयोगमा दर्ता भएका दलको सङ्ख्या १३० पुगेको छ । समानुपातिकमा भाग लिने दलको सङ्ख्या १२४ दर्ता गराएकामा उम्मेदवारी दिने दलको सङ्ख्या १२२ मात्र छ ।
निर्वाचनमा उम्मेदवारको सङ्ख्या बढ्नु नराम्रो नभएको भन्दै विश्लेषकहरुले यसले विभिन्न पेसा, वर्ग, क्षेत्रका मानिसको प्रतिनिधित्व बढाएको, नयाँ पुराना र समावेशी हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गरी समावेशी र सन्तुलित बनाउने प्रयास भएको देखिएको छ । तर पनि महिला र दलितलाई प्रत्यक्षतर्फको उम्मेदवारीमा अवसर दिनुपर्नेमा खुम्चाउने काम भएको देखिएको छ ।
त्यस्तै निर्वाचनको मुखमा आएर पार्टी छोड्ने र प्रवेश गर्ने क्रमलाई हेर्दा दलहरुबीच राजनीतिक र वैचारिक सिद्धान्तको दूरी कम भएकाले एउटा पार्टीको मान्छे अर्को पार्टीमा सहजै रुपमा गएर काम गर्न सक्ने कुरा पनि पार्टी प्रवेशको घटनाले पुष्टि गरेको विश्लेषक सुवेदीले बताए ।
वरिष्ठ पत्रकार राजेश्वर नेपालीले नेकपा–माओवादीलगायतका दलहरु चुनावमा सहभागी नहुँदा केही खल्लो देखिए पनि निर्वाचनका लागि दलहरुले गरेको मनोनयनको उत्साह र व्यापक सहभागिताले निर्वाचनको प्रक्रिया कार्यतालिका अनुसार राम्रै ढङ्गले अघि बढेको प्रतिक्रिया दिए ।
“राजनीतिलाई गलत रुपमा बुझेर धेरै पार्टी दर्ता गर्ने होड चल्दा उम्मेदावरको सङ्ख्या बढेको हो, उम्मेदवार छनोट गर्दा पार्टीभित्र निश्चित मापदण्ड र पूर्ण तयारीका साथ समावेशी तुल्याउनुपर्नेमा दलहरुले अझै त्यो काम व्यवस्थित गर्न सकेको छैनन्”, वरिष्ठ पत्रकार नेपालीले भने । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us