आलममाथिको आक्रमण राजनीति प्रेरित अपराध

काठमाण्डु टुडे २०७० असोज १८ गते ९:५१ मा प्रकाशित

Pradip-Gyawaliबारामा तपाईंको पार्टीका उम्मेदवार मोहम्मुद आलममाथि गोली प्रहार भएको छ । यसलाई कसरी कसरी लिनुभएको छ ?
आलमजी संविधानसभा उम्मेदवार मात्र नभएर हाम्रो पार्टीका केन्द्रीय सदस्य र मुस्लिम फाँटका प्रमुख समेत हुनुहुन्छ । उहाँमाथिको यो दु:खद घटनालाई एमालेले गम्भीर रुपमा लिएको छ । एमाले त्यसप्रकारको कायरतापूर्ण आक्रमणको निन्दा र भत्र्सना गर्दछ ।
घटनाले के संकेत गर्छ ?
संविधानसभा निर्वाचनका लागि भर्खरै उम्मेदवारी दर्ता भएको छ । त्योसँगै देशभर चुनावी माहोल बनेको छ । यो घटनाले त्यो माहौलमा ब्रेक लगाउने हो कि भन्ने आशंका हामीलाई भएको छ । यसले सरकारको समग्र सुरक्षा रणनीतिप्रति जनतामा आशंका उत्पन्न भएको छ ।
घटनामा कसको संलग्नता हुन सक्छ ?
घटनाका सम्बन्धमा हामीले सुरक्षा निकायमा अधिकारीहरुसँग कुरा गरिरहेका छौं । उहाँहरुले गम्भीर ढंगले छानबिन अगाडि बढाएको बताउनुभएको छ । घटनामा कसको संलग्नता छ भन्ने विषयमा विस्तारै अनुसन्धानले पुष्टि गर्दै जाला, तर एउटा कुरा चाहिं प्रष्टताका साथ के भन्न सकिन्छ भने यसमा संविधानसभा निर्वाचन नहोहोस् भन्ने चाहना राख्ने शक्तिको हात छ ।
आलममाथिको आक्रमण व्यक्तिगत कि राजनीतिक ?
उहाँ हाम्रो पार्टीका असाध्यै इमान्दार र प्रतिबद्ध विवादरहित व्यक्ति हुनुहुन्छ । स्वभावका हिसाबले पनि उहाँ कसैसँग अनावश्यक किचलो गर्ने र टक्कर लिने खालको हुनुहुन्न । त्यसैले यो व्यक्तिगत कारणले भएको घटना होइन । यसो भन्दा उहाँमाथि ठूलो अन्याय हुन्छ । यो विशुद्ध राजनीति प्रेरित आपराधिक घटना हो ।
उम्मेदवारको त सुरक्षा छैन, अनि कसरी सुरक्षित र भयरहित वातावरणमा निर्वाचन होला ?
बारा पर्सा त्यसै पनि सरकारी सुरक्षा निकायको बाक्लो उपस्थिति भएको क्षेत्र हो । सरकारले तराई केन्द्रित विशेष सुरक्षा प्रवन्ध पनि मिलाएको छ । त्यसमाथि उम्मेदवारको सुरक्षा गर्ने भन्ने त सरकारको नीति नै छ । यस्तो अवस्थामा राज्यले नै सुरक्षा दिनुपर्ने व्यक्तिमाथि दिनदहाडै गोली प्रहार हुनु र अपराधीहरु सकुशल उम्कन सफल हुनु गम्भीर विषय हो । यसबाट सरकारले जनताको सुरक्षा गर्न सक्छ त भन्ने प्रश्न उठेको छ ।

तपाईंकै भनाइमा पनि निर्वाचन भयरहीत वातावरणमा हुने देखिएन होइन ?
निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा गराउने दायित्व र जिम्मेवारी सरकारको हो । त्यसबारे आश्वस्त तुल्याउने काम सरकारले नै गर्नुपर्छ ।
घटनापछि एमालेले चाहिं अब के गर्छ ?
पार्टी स्थायी कमिटीको बैठक बसिरहेको छ । कसरी अगाडि बढ्ने भन्नेबारेमा निर्णय भएपछि हामी त्यहीअनुसार जान्छौं ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us