राहत बाँड्न कन्चनपुरमा अन्न भकारी

काठमाण्डु टुडे २०७० असोज १८ गते ४:४९ मा प्रकाशित

कञ्चनपुर, १८ असोज – आपतकालीन अवस्थामा बाढीबाट पीडित परिवारलाई राहत उपलब्ध गराउन सहजता पुर्‍याउने उद्देश्यले कञ्चनपुरका पाँच गाविसमा अन्न भकारीको व्यवस्था मिलाइएको छ । बाढीको उच्च जोखिममा रहेका लक्ष्मीपुर, रामपुर विलासीपुर, शङ्करपुर, श्रीपुर र देखतभुलीका सामुदायिक व्यवस्थापन समितिमा आबद्ध सर्वसाधारणले आफ्नै पहलमा अन्न भकारी राखेका हुन् ।

स्थानीयबाट आपतकालीन अवस्थाका लागि चन्दाका रुपमा अन्न सङ्कलन गरी उनीहरुले भकारीमा अन्न राख्दै आएका छन् । सुरक्षित स्थानमा राखिएका भकारी निर्माण गर्नका लागि निडस संस्थाले सहयोग पुर्‍याउएको सो संस्थाका टोली नेता भवराज रेग्मीले जानकारी दिए । १५ क्विन्टलभन्दा बढी अन्न अट्ने क्षमताका भकारीमा चन्दा उठाएर मकै, धान, गहुँ, चामल लगायत अन्न राख्ने गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा तत्काल सरकारी र गैरसरकारी तवरबाट राहत वितरण गर्न सम्भव नहुने भएकाले स्थानीयले सामुदायिक व्यवस्थापन समितिमार्फत पीडित परिवारलाई राहतको व्यवस्था मिलाउने कार्य गर्दै आएका छन् । बाढी नआएको वर्ष भकारीमा राखिएको अन्न सामुदायिक व्यवस्थापन समितिमार्फत बजारमा बिक्री गरी आएको रकम आपतकालीन कोषमा जम्मा गरिँदै आएको टोलीनेता रेग्मीले जानकारी दिए ।

भकारीको अन्न बिक्री गरी हालसम्म रामपुर विलासीपुर समुदायिक व्यवस्थापन समितिको आपतकालीन कोषमा १५ हजार, लक्ष्मीपुरमा ७३ हजार ३१४, श्रीपुरमा एक लाख २० हजार ६८० शङ्करपुरमा ७७ हजार र देखतभुलीको आपतकालीन कोषमा एक हजार ५०० रुपैयाँ जम्मा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us