अमेरिका छाड्न भेनेजुएलाका कुटनीतिज्ञलाई आदेश

काठमाण्डु टुडे २०७० असोज १७ गते २:०४ मा प्रकाशित

काठमाण्डु, १७ असोज–भेनेजुएलाको अर्थतन्त्रलाई आघात पुर्‍याउने प्रयासमा संलग्न रहेको भन्दै भेनेजुएलाले तीन अमेरिकी कुटनीतिज्ञहरुलाई आफ्नो देशबाट निस्कासित गरेको भोलिपल्ट नै अमेरिकाले पनि तीन भेनेजुएलाली कुटनीतिज्ञहरुलाई निष्कासित गरेको छ । अमेरिकाले भेनेजुएलाका तीन कुटनीतिज्ञहरुलाई सेवाबाट बर्खास्त गर्दै अमेरिका छाड्न मंगलबारबाट ४८ घण्टाको समय दिएको छ ।

अमेरिकाले वासिङ्टन राजदूतावासमा कार्यरत दुई र हस्टन दूतावासमा सेवा दिइरहेका एक कुटनीतिज्ञसहित तीनजनालाई अमेरिका छाड्न आदेश दिएको हो । अमेरिकाले कुनै आधारबिना नै ती तीन कुटनीतिज्ञहरुलाई देश छाड्न आदेश दिएको हो । यसअघि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो स्वय‌मले नै भेनेजुएलाको अर्थतन्त्रलाई धारासायी पार्ने उद्देश्यले त्यहाँका उद्योगहरुलाई उत्पादन कम गराउन ती अमेरिकी कुटनीतिज्ञहरुले घुस दिएको प्रमाणित भएपछि उनीहरुलाई निष्कासित गर्दै आफ्नो देश छाड्न आदेश दिएका थिए । गत सप्टेम्बरमा भेनेजुएलामा विद्युत आपुर्तिमा घात पुर्‍याउनसमेत उनीहरुको हात भएको प्रमाणित भएको भेनजुएलाका राष्ट्रपतिले जनाएका छन् ।

भेनेजुएलास्थित अमेरिकी दुतावासले भने भेनेजुएलाको आरोपको खण्डन गरेको छ । अमेरिकी अधिकारीले भेनेजुएलाली राष्ट्रपतिको आरोप आधारहीन भएको भन्दै आरोप अस्वीकार गरेका छन् । अमेरिकाको वैदेशिक विभागका प्रवक्ता जेन साकीले ती कुटनीतिज्ञहरु उनीहरुको आदेशअनुसार नै आफ्नो जिम्मेवारी बहन गरिरहेको दाबी गरेकी छिन् ।

भेनेजुएलाली राष्ट्रपति निकोलसले अमेरिकासँग शिष्ट सम्बन्ध कायम गर्न नसकिने र अमेरिकी राष्ट्रपति ओबामाले नै यस विषयबारे सम्बोधन गर्नुपर्ने र सहमति निकाल्नुपर्ने बताएका छन् । अमेरिका र भेनजुएलमा सन् २०१० देखि नै एक अर्काको देशमा राजदुत छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us