खाद्य संस्थानमा चामल पर्याप्त

काठमाण्डु टुडे २०७० असोज १७ गते १:५५ मा प्रकाशित

भद्रपुर, १७ असोज – मेची अञ्चलको एक मात्र पहाडी जिल्लामा चामल बिक्री–वितरण गर्दै आइरहेको नेपाल खाद्य संस्थान अञ्चल कार्यालय विर्तामोडसँग पर्याप्त मात्रामा चामल सञ्चित रहेको छ । सो कार्यालयले साउनदेखि हालसम्म ताप्लेजुङमा ७ सय ९२ क्विन्टल चामल बिक्री–वितरणका लागि पठाइसकेको र कार्यालयको गोदाममा ७ सय ४० क्विन्टल चामल सञ्चित रहेको जनाएको छ । ताप्लेजुङ जिल्लाले थप चामलको माग गर्नासाथ तुरुन्त पठाइने  कार्यालय प्रमुख मार्कण्डेयप्रसाद जयसवालले बताए ।

सो जिल्लाका लागि वार्षिक रुपमा दुई हजार २ सय क्विन्टलको कोटा निर्धारण गरिएको छ । थप माग भएको खण्डमा जिल्लास्थित खाद्य व्यवस्था समितिको सिफारिसका आधारमा प्रधान कार्यालयसँग माग गरिएपछि त्यहाँबाट चामल उपलब्ध गराउने गरिएको छ । गत आर्थिक बर्षमा पनि निर्धारित चामलको कोटाबाहेक थप माग भएपछि ५ सय क्विन्टल चामल पठाइएको थियो ।

अञ्चल कार्यालयले अरुवा सोना मन्सुली र कान्छी चामल वितरण गर्दै आइरहेको छ । ताप्लेजुङमा उक्त चामल प्रतिक्विन्टल तीन हजार ५ सयमा बिक्री गर्ने गरिएको छ । विर्तामोडबाट ताप्लेजुङका लागि प्रतिक्विन्टल ४ सय २७ रुपैयाँ ढुवानी भाडा तिर्ने गरिएको छ ।

ताप्लेजुङबाहेक यस कार्यालयको चामलको चन्द्रगढी र इलामस्थित कारागारका बन्दीका लागि पनि खपत हुने गरेको छ । चालु आर्थिक बर्षको साउनदेखि अहिलेसम्म चन्द्रगढी कारागारले ३ सय ८१ क्विन्टल र इलाम कारागारले १ सय ६० क्विन्टल चामल खरिद गरेर लगेको छ । यस अञ्चलका झापा, इलाम र पाँचथरमा अन्नबाली उत्पादन हुने गरेकाले खाद्य संस्थानले ती जिल्लाका लागि कुनै प्रकारको कोटा छुट्याएको छैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us