गैरसरकारी संस्था करोडौं ठगेर फरार

काठमाण्डु टुडे २०७० असोज १६ गते ६:०१ मा प्रकाशित

जनकपुरधाम, १६ असोज–नेपाल–जापान सहयोग नामक एक गैरसरकारी संस्थाले जनकपुरबाट दुई करोडभन्दा बढी रकम ठगी गरेको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा दर्ता रहेको सो संस्थाले जनकपुरको भानुचोकस्थित पञ्जियार भवनमा कार्यालय स्थापना गरी स्यालोट्युवेल र शौचालय निर्माण गर्ने अवधारणा सार्वजनिक गरेर रकम ठगी गरेको पीडितले जनाएका छन् ।

स्थानीय रामसुन्दर साहका अनुसार सो संस्थाका कर्मचारी स्यालोट्युवेल र शौचालय निर्माणका लागि धनुषाका अधिकांश गाविसका घरपरिवारबाट ६ हजार ५०० रुपैयाँ लिई फरार भएका छन् ।
धनुषाका चोराकयलपुर बस्ने राकेशकुमार यादवले सो संस्थाको निर्देशक पदमा रही यस किसिमको ठगी गरेको उनीहरूको भनाइ छ । पीडितका अनुसार यादवले हरेक गाविसमा संस्थाका केही कर्मचारीलाई परिचालित गरी स्यालोट्युवेल र शौचालयमा लाग्ने न्यूनतम दर भन्दै स्थानीय बासिन्दाबाट ६ हजार ५०० रकमको रसिद काटेर असुली गरेका थिए ।

निर्देशक यादवसँग मोबाइलमा सम्पर्क गरी संस्थाको दर्ता नम्बरबारे जानकारी लिन खोज्दा दिन नमानेको र संस्थाद्वारा विभिन्न गाविसमा सार्वजनिक गरिएको अवधारणाअनुरुप कार्य गरिएको उनले दाबी गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us