
काठमाण्डु, १७ असोज – व्यावसायिक कीट विकास निर्देशनालय हरिहरभवन र केन्द्रीय मह व्यवसायी संघको संयुक्त आयोजनामा काठमाण्डुमा विहीबार पहिलोपटक राष्ट्रिय मह महोत्सव हुँदै छ । १७ असोजदेखि २० गतेसम्म राष्ट्रिय सभागृहमा हुने महोत्सवका लागि चितवन, सिराहा, नवलपरासी, दाङ, दैलेख, लमजुङ, ताप्लेजुङ, धादिङलगायत ३२ जिल्लाका कृषकले सहभागीता जनाउने छन् ।
मह उत्पादन र मौरी पालनसँग सम्बन्धित ५० भन्दा बढी बिक्री कक्ष रहने महोत्सवमा अवलोकनकर्तालाई मह चाख्ने व्यवस्थादेखि ‘मौरीबाजे’को नामले परिचित धादिङका मौरीपालक किसान केशव अर्यालयको कला प्रदर्शन गराइने व्यावसायिक कीट विकास निर्देशनालयका निर्देशक जगदीशभक्त श्रेष्ठले बताए ।
मह उत्पादन वृद्धि गरी नेपाली महलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्न सहयोग पु¥याउने उद्देश्यले आयोजना हुने महोत्सवमा महको औषधीय गुणको बारेमा विज्ञले जानकारी दिने कार्यक्रमदेखि यही अवसरमा मौरीपालन र महसम्बन्धी एक दिने कार्यशाला गोष्ठीसमेत आयोजना गरिने छ ।
महोत्सवले महका बारेमा उपभोक्तालाई सत्य तथ्य जानकारी गराउने, मह व्यवसायलाई थप ऊर्जा प्रदान गर्ने, उत्पादकत्व बढाउने आयोजकहरूले अपेक्षा राखेका छन् । हाल वार्षिक एक हजार ५०० मेट्रिक टन मह उत्पादनले मागको ५० प्रतिशत मात्र पूर्ति भएको छ । बाँकी भारतबाट आयात हुने गरेको छ ।