दसैंको मुखमा नक्कली नोट छ्याप छ्याप्ती

काठमाण्डु टुडे २०७० असोज १५ गते ५:२२ मा प्रकाशित

अछाम, १५ असोज–अछाममा नक्कली नेपाली नोटको कारोबार गर्ने गिरोह पछिल्लो समयमा सक्रिय बनेको छ । बंैकमा नक्कली नोट भेटिने क्रम बढेपछि नक्कली नोट कारोबारमा संलग्न गिरोह नै सक्रिय बनेको निष्कर्ष बैंकहरूले निकालेका छन् ।

पछिल्लो १५ दिनभित्र मालिका विकास बैंक मङ्गलसेन शाखामा एक हजार दरका तीन नक्कली नोट फेला परेका छन् । बैंकका शाखा प्रबन्धक गणेश साउदले आधा महिनाको अवधिमा बैंकमा रकम जम्मा गर्न आएका ग्राहकबाट एक हजार दरका तीन नक्कली नोट फेला परेको जानकारी दिए ।

ख ४०, ६५७६९९, ख ५०, ७१३३८ र ग ४, ७३७०७८ नम्बरका तीन नक्कली नोट भेटिएका बैंकले जनाएको छ । एक लाख ९४ हजार, ९० हजार र २५ हजारको गड्डीमा ती नक्कली नोट भेटिएका हुन् । सबै नक्कली नोट व्यापारीबाट भेटिएको प्रबन्धक साउदले बताए । नक्कली नोट भेटिने सबैसँग सोधपुछ गर्दा नक्कली नोट छ भनेर थाहा नपाएर नै बैंकमा जम्मा गर्न आएको उनीहरूले बताएका छन् ।

दसैँको मुखमा बजारमा ग्राहकको भीडभाड बढी हुने भएकाले त्यसैको मौका छोपेर नक्कली नोटको कारोबार गर्ने गिरोहले नक्कली नोट व्यापारीकहाँ पु¥याएको हुनसक्ने अनुमान छ । भेटिएका तीनै नोट नक्कली भएको बैंकले प्रमाणित गरिसकेको भए पनि थप प्रमाणित गर्न राष्ट्र बैंकमा पठाउने साउदले जानकारी दिए ।

झट्ट हेर्दा सक्कली नोट जस्तै देखिने नक्कली नोट छाम्दा र मेसिनले हेर्दा नक्कली भएको सहजै थाहा पाउन सकिनेखालका छन् । सक्कली नोटको बीच भागमा हुने तारमा नेपाल राष्ट्र बैंकको छोटो रूपमा अङ्ग्रेजीमा एनआरबी लेखिएको हुुनुपर्नेेमा नक्कली नोटमा भने उक्त कुरा लेखिएको छैन । मेसिनमा राखेर हेर्दा सक्कली नोटमा लेखिएका अङ्क सबै उज्यालो देखिने तर नक्कली नोटमा भने अँध्यारो देखिन्छ । समग्रमा सक्कली नोटभन्दा नक्कली नोट बढी उज्यालो देखिन्छ ।

जनता बैंक मङ्गलसेन शाखाका प्रवन्धक एकेन्द्र भण्डारीले पनि केही पहिले बैंकमा १० रुपैयाँ देखि एक हजार रुपैयाँ सम्मका नोट नक्कली भेटिएको बताए । ग्रामीण भेगमा थुप्रै नक्कली नोट हुन सक्ने उनको भनाइ छ ।

राष्ट्रिय वाणिज्य बैंक मङ्गलसेन शाखाका प्रबन्धक महेन्द्रप्रसाद तिमिल्सिनाले पनि केही दिन पहिले बैंकमा नक्कली नोट आएको बताए । नक्कली नोटको कारोबार गर्ने गिरोह दसैँ तिहारजस्ता चाडबाडको समयमा बढी सक्रिय हुने भएकाले रकम लेनदेन गर्दा निकै होस पु¥याउनुपर्ने उनको सुझाव छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us