
काठमाण्डु, १६ असोज – नेपाल खाद्य संस्थानले दसैँका लागि बुधबारदेखि खसीबोका बिक्री शुरु गरेको छ । सुदूरपश्चिमका पहाडी भेगबाट खरिद गरी काठमाण्डु ल्याइएका खसीबोकाको मूल्य निर्धारण गरी बुधबारबाट बिक्री थालेको हो ।
आमउपभोक्ताको सुविधालाई मध्यनजर गर्दै यसपटक चाँडै बिक्री शुरु गरेको संस्थानका महाप्रबन्धक डा. शिवहरि श्रेष्ठले बताए । अघिल्लो वर्षको दसैँमा घटस्थापनाको दिनबाट बेच्न सुरु गरिए पनि यसपटक व्यापारीहरुले गाउँमै गएर खसी ढुवानी गर्न सुरु गरेकाले पछिसम्मलाई खसीबोका ढुवानी गर्न सक्ने अवस्था नभएकाले चाँडै बिक्री गरिएको उनको भनाइ छ ।
संस्थानले खरिद गरिएका खसीबोका किन्ने ठाउँदेखि बीचबाटो, थानकोट र काठमाण्डुमा बिक्री स्थलसम्म चारपटक स्वास्थ्य परीक्षण गरिने जनाएको छ ।
श्रेष्ठका अनुसार सोमबारसम्म ६ सय खसीबोका काठमाण्डु भित्रिएका छन् । बुधबार साँझसम्म यो संख्या एक हजारभन्दा बढी पुग्ने बताइएको छ ।