प्रवासी नेपालीको मतदान अधिकारबारे सरकार र आयोगलाई सर्वोच्चको आदेश

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते १४:५६ मा प्रकाशित

supreme-court-nepalकाठमाण्डु, १४ कात्तिक– विदेशमा रहेका नेपालीहरुले पनि संविधानसभा निर्वाचनमा मताधिकार पाउन माग गर्दै दायर एक रिट निवेदनमा विहिबार सर्वोच्च अदालतले सरकार तथा निर्वाचन आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाश वस्तीको एकल इजलाशले जारी गरेको सो आदेशमा १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन पनि भनिएको छ । सो रिटमा निवेदकलाई अपूरणीय क्षति हुने नदेखिएकाले अन्तरिम आदेश भने जारी गर्न नपर्ने जनाइएको छ ।

आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन र सम्भव भए प्रत्यक्ष निर्वाचनमा समेत विदेशमा रहेका मतदातालाई नेपाली दूतावास तथा वाणिज्य दूतावासमा मतदान व्यवस्था मिलाउनका लागि आदेश जारी गर्न सो रिटमा माग गरिएको थियो ।

यसैगरी विदेशमा रहेका मतदाताको अधिकार सुनिश्चित नभएसम्म आयोगका बाँकी काम अघि नबढाउन अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो । आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाई अधिवक्तात्रय मोहन साशशङ्कर, प्रवीन पन्दाक र करुणा थपलियाले सो रिट दायर गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us