निर्वाचन महत्वपूर्ण कदमः ईयु पर्यवेक्षक

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते १२:२४ मा प्रकाशित

europian unionकाठमाण्डु, १४ कात्तिक– युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन (ईयु ईओएम) नेपालकी प्रमुख पर्यवेक्षक इभा जोलीले आउँदो संविधानसभाको निर्वाचन नेपालको लोकतान्त्रिक विकासमा महत्वपूर्ण कदम रहेको बताएका छन् ।

नेपालको तीन दिने भ्रमणपछि एक वक्तव्य जारी गर्दै जोलीले भनेका छन्, ‘लोकतान्त्रिक विकासको महत्वपूर्ण कदम रहेको यस निर्वाचनको चुनौती सामना गर्न सबै सरोकारवालाहरू समावेशी र शान्तिपूर्ण निर्वाचन प्रक्रियामा संलग्न हुनु आवश्यक छ ।’

समावेशी र हिंसामुक्त वातावरण आगामी संविधानसभा निर्वाचनलाई सफल र विश्वसनीय बनाउने आवश्यक तत्व रहेको उनले बताएका छन् । भ्रमणका क्रममा जोलीले नेपालका राष्ट्रपति, प्रमुख निर्वाचन आयुक्त, कामु प्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का अध्यक्षका साथै विभिन्न राजनीतिक दलका नेता, सञ्चारमाध्यमका प्रतिनिधि तथा निर्वाचन प्रक्रियामा संलग्न अन्य सरोकारवालाहरूसँग परामर्श गरेका थिए ।

निर्वाचनका दिन ईयु ईओएमले युरोपेली सङ्घका सबै २८ सदस्य राष्ट्रका साथै नर्वे र स्वीट्जरल्यान्डका गरी १०० भन्दा बढी पर्यवेक्षकलाई देशभर परिचालन गर्ने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us