
नेपालगञ्ज, १४ कात्तिक– कांग्रेस सभापति सुशील कोइरालाले आफ्ना पार्टीको चुनाव प्रचार अभियानमा अवरोध पुर्याइएको भन्दै त्यसो नगर्न एकीकृत माओवादी नेतृत्वलाई आग्रह गरेका छन् ।
नेपालगञ्जको वीपी चोकमा बिहीबार भएको कोणसभामा कोइरालाले माओवादी गतिविधिले दलहरुबीच द्वन्द्वको अवस्था निम्तिन सकिने बताए । एमाओवादीका गतिविधिले ऊ निर्वाचन विथोल्न उद्धत रहेको सन्देश जान खोजेको कोइरालाको भनाइ थियो ।
कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरी अरु पार्टीका चुनावी कार्यक्रममा अवरोध नपुर्याउन आग्रह गर्ने उल्लेख गरे । उनले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले भने निर्वाचन भाँड्ने गरी हिंसात्मक गतिविधि नगर्ने विश्वासमा आफू रहेको बताए ।
उनले पार्टीलाई जिताउने गरी खट्न देशभरका कार्यकर्तालाई निर्देशनसमेत दिए । कोइराला चितवनमा घरदैलो अभियान सकेर नेपाल गञ्ज गएका हुन् । संविधानसभा निर्वाचनमा उनी चितवन–४ र बाँके–३ बाट उम्मेदवार छन् ।