
बनेपा, १४ कात्तिक– एक गाउँ एक उत्पादन (डेरी) कार्यक्रम आजदेखि काभ्रेमा सुरु भएको छ । कार्यक्रम कार्यान्वयन समितिले कुशादेवीमा कृषक भेलाको आयोजना गरी परियोजनाको रुपमा पाँच वर्षका लागि कार्यक्रम सुरु भएको जनाएको छ ।
कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष तथा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दियशरत्न शाक्यले ९० किलोग्राम घाँसको बीउ ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण हुने जानकारी दिँदै किसानले उत्पादनअनुसारको प्रतिफल नपाएकाले कृषक मारमा परेको बताए ।
पशुसेवा कार्यालय काभ्रेका वरिष्ठ पशु विकास अधिकृत डा सम्झना काफ्लेले काभ्रेमा गाईको नश्ल गुणस्तरिय नभएको उल्लेख गर्दै पशु उत्पादनका लागि हरियो घाँसको उत्पादन आवश्यक भएको र त्यसले गुणस्तररिय दुग्ध उत्पादनमा सहयोग पुर्याउने उल्लेख गरे ।
काभ्रेको कुल रु दुई लाख लिटर दूध उत्पादन हुने गर्छ तर त्यसको पाँच प्रतिशत काभ्रेले मात्रै धानेको स्थानीय कृषक बताउछन् । कुशादेवीबाट झन्डै १२ हजार लिटर दूध दैनिक उत्पादन हुन्छ । सो परियोजनाका लागि रु १३ लाख बजेट विनियोजन भएको छ । रासस