
बुटवल, १४ कात्तिक– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनतालाई तर्साएर मताधिकारबाट वञ्चित गराउन नपाइने बताएका छन् । निर्वाचनमा भाग लिने र नलिने राजनीतिक अधिकार जनतामा सुरक्षित रहेकाले तर्साएर वञ्चित गराउन नपाउने बताएका हुन् ।
संविधानसभा निर्वाचन बहिष्कार गर्नेहरु उद्देश्यविहीन भएको भन्दै विजुक्छेले भने, ‘निर्वाचन बहिष्कारले क्रान्ति पनि हुन सक्दैन र शान्ति प्रकिया पनि टुङ्गिन सक्दैन ।’ नेमकिपा रुपन्देहीले बिहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानसभा निर्वाचनलाई संसदीय र स्थानीय निर्वाचन जस्तो गरी प्रचार गर्न नहुने तर्क गरे ।
‘पटक पटक सत्तामा बसेर विकास नगर्नेहरुले निर्वाचनका मुखमा आएर विकास गर्छौं भन्नु जनतालाई भ्रममा पार्नु मात्र हो’, उनले भने, ‘संविधानसभाको निर्वाचन संसदीय निर्वाचन जस्तो होइन ।’ विकासको नाममा पुल, सडक बनाइदिन्छौँ खानेपानीको व्यवस्था पूर्ण रुपले गरिदिन्छाैँ जस्ता आश्वासन जनतालाई दिन नहुनेमा उनको जोड थियो ।