
इलाम, १४ कात्तिक– एमाले अध्यक्ष तथा इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले चुनाव विरोधी समूहबाट आफूहरूलाई कुनै पनि खतरा नभएको बताएका छन् ।
सबै निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीको परिचालन चुस्त गतिमा भइरहेको बताउँदै कसैसँग नडराई निर्वाचन प्रक्रियामा सामेल हुन समेत उनले आग्रह गरे । निर्वाचन क्षेत्र नं १ अन्तर्गत गोदकमा भएको कार्यक्रममा खनालले भने, ‘केही विरोध र अवरोधका घटनालाई छिटफुट हुन्, समग्रमा मुलुकको सुरक्षास्थिति मजबुत छ । एमालेलाई विरोधी दलहरुबाट पनि खतरा छैन, निर्भयपूर्वक निर्वाचन हुन्छ, ढुक्क हुनुस् ।’
उनले कतै पनि भय, आतङ्क र त्रास नरहेकाले मङ्सिर ४ मा निर्वाचन सफल हुने जिकिर समेत गरे । सर्लाही–१ बाट पनि उम्मेदवारी दिएका खनालले चुनाव भाँड्नुभन्दा बरु सहयोग गरे बहिष्कारवादीहरुको हित हुने दोहोर्याउँदै चुनावलाई सबै मिलेर सफल पार्नुपर्नेमा जोड दिए ।