मोटरसाइकलमा तीन जना चढेपछि प्रहरी र फोरम कार्यकर्ताबीच झडप

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ९:१७ मा प्रकाशित

renu_yadavसप्तरी, १४ कात्तिक– मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ता र प्रहरीबीच बिहिबार राजविराजमा झडप भएको छ । चुनाव प्रचारप्रसारमा गइरहेको बेला प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिन खोजेपछि झडप भएको फोरम नेपालको दावी छ ।

झडपका क्रममा प्रहरीले फोरमका केन्द्रीय कोषाध्यक्ष तथा सप्तरी क्षेत्र नं ४ का उम्मेदवार रेणुकुमारी यादवसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । एउटा मोटरसाइकलमा तीन जना चढेकोमा रोकेर सोधपुछ गर्दा झडप भएको प्रहरीले जनाएको छ ।

आफू कार्यकर्तासँगै बिहान ९ बजेतिर चुनाव प्रचारप्रसारका लागि आफ्ना क्षेत्रतर्फ गइरहेका बेला प्रहरीले ‘तीन जना किन मोटरसाइकलमा चढिस्’ भनेर गाडी नियन्त्रणमा लिई कार्यकर्तालाई कुटपिट गर्न खोजेपछि झडप भएको फोरमकी नेत्री रेणुकुमारी यादवले बताइन् । वडा प्रहरी कार्यालय राजविराज अगाडि सो झडप भएको हो ।

झडपका क्रममा प्रहरीले उम्मेदवार यादवसहित फोरमका जिल्ला सचिव तथा समानुपातिक उम्मेदवार उमेशप्रसाद यादव र केदार यादवलाई नियन्त्रण लिएको हो । तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा राखिएको राससले जनाएको छ ।

प्रहरीले आफ्ना उम्मेदवार र कार्यकर्तालाई कुटपिट गर्दै नियन्त्रणमा लिएको भन्दै फोरमका नेता कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय सप्तरी आगाडि प्रदर्शन गरिरहेका छन् । फोरमका कार्यकर्ताको प्रदर्शनका कारण जिल्ला प्रहरी कार्यालय अगाडि तनाब सिर्जना भएको तथा  थप झडप हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us