मतदानका लागि सुरक्षाको प्रत्याभुति चाहियो

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ६:५९ मा प्रकाशित

NIL_KANTHA_UPRETI_20130627090821काठमाण्डु, १४ कात्तिक–प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी मंसिर ४ गतेको चुनाव चुनौतिपूर्ण रहेको बताएका छन् । उनले सरकारलाई प्रर्याप्त शान्ति सुरक्षाको प्रवन्ध मिलाउन पनि आग्रह गरे ।

आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक)ले विहीबार काठमाण्डुमा गरेको अभिमुखीकरण कार्यक्रममा उप्रेतीले भने, ‘केही समूह निर्वाचनबाट बाहिर नै बसेकाले समय चुनौतीपूर्ण छ । तर, मतदान गर्ने नागरिकको लोकतान्त्रिक अधिकारलाई कसैले वञ्चित गर्न पाउँदैन, मतदानका लागि राज्यले शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्छ ।’

उनले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन पर्यवेक्षकले पनि निष्पक्ष रुपमा पर्यवेक्षण गर्नुपर्नेमा जोडसमेत दिएका छन् ।

कार्यक्रममा जियोकका अध्यक्ष हिमालय शम्शेर राणाले मुलुकमा आचारसंहिता उल्लंघनका घटना बढ्दै गएकोले निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

यसैगरी प्रा चिरन्जीवी खनालले निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन सम्पन्न गराउन पर्यवेक्षण र मिडियाको समेत महत्वपूर्ण भूमिका हुने धारणा राखे ।

एकदिने अभिमुखीकरण कार्यक्रममा जियोकअन्तर्गत राष्ट्रियस्तरका ५५ र जिल्लास्तरका ७५ पर्यवेक्षकलाई निर्वाचनमा खटिँदा पर्यवेक्षणका अपनाउनुपर्ने विधि एवं प्रक्रियाबारे जानकारी गराइने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us