
काठमाण्डु, १४ कात्तिक–एकीकृत माओवादीले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगको अनुमतिमा हेलिकोप्टर प्रयोग गरेको स्पष्ट पारेको छ । निर्वाचन आयोगसँग अनुमति लिएर हेलिकोप्टर प्रयोग गरेकोले चुनावी आचार संहिता उल्लंघन नगरेको एमाओवादीको भनाई छ ।
‘हामीले निर्वाचन अयोगको अनुमतिमा हेलिकोप्टर प्रयोग गरेका हौं,’ प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले भने, ‘यसबारेमा निर्वाचन आयुक्तहरु नै जानकार हुनुहुन्छ । हेलिकोप्टर चढेर आचार संहिता तोडेको भन्ने आरोप गलत हो ।’
हेलिकोप्टर प्रयोगको अनुमतिकालागि निर्वाचन आयुक्त अयोधी प्रसाद यादवलाई प्रचण्डका सहयोगी शिव खकुरेलले बुधबार विहान ८ बजे बहादुर भवनस्थित आयोग कार्यालयमा भेटेर निवेदन बुझाएका थिए । त्यसपछि आयुक्त यादवले अनुमति दिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्ड बुधबार काठमाण्डुबाट हेलिकोप्टर चढेर काभ्रे र दोलखाका चुनावी सभालाई सम्वोधन गर्न गएका थिए । प्रचण्डको कार्यक्रम प्रभावित पार्न वैद्य माओवादीका कार्यकर्ताले काभ्रे र दोलखा सदरमुकाम चरिकोट जाने बाटोमा रुख ढालेको, बाटोमा मोबिल पोखिदिएको र बिभिन्न ठाउँमा बम राखेको पाइएपछि प्रचण्डले हेलिकोप्टर प्रयोग गरेका थिए ।
हेलिकोप्टर चढेको बारेमा गुनासा बढ्न थालेपछि अध्यक्ष प्रचण्ड र प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीबीच पनि टेलिफोन वार्तासमेत भएको स्रोत बताउँछ ।