पत्रकार बस्ताकोटी कुटिए

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ४:४१ मा प्रकाशित

Chandreshwor-bastakotiकाठमाण्डु, १४ कात्तिक–क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य चन्द्रेश्वर बस्ताकोटीमाथि मुस्ताङका एमाले कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेका छन् । मुस्ताङको लेते गाविसको घासामा बुधबार साँझ उनीमाथि आक्रमण भएको हो ।

आक्रमणकारीले ‘एमालेका पूर्वसभासद र अन्य नेता एमाओवादीमा प्रवेश गरेको समाचार लेख्ने तँ होइनस्’ भन्दै कुटपीट गरेका थिए । ‘गलबन्दीले घाँटीमा कसेर घिसार्दै नजिकैको घरभित्र लगेर मलाई कुटपीट गरे,’ बस्ताकोटीले भने, ‘मलाई मार्ने उद्देश्यले नै आक्रमण गरेका थिए । तर, पछि छाडिदिए ।’ आक्रमणकारीले उनको ल्यापटप, क्यामरा र पत्रकार परिचयपत्र खोसेर लगेका छन् ।

प्रहरीले अनुसन्धानकालागि स्थानीय उत्कृष्ट गौचनलगायतलाई नियन्त्रणमा लिएको छ ।

क्रान्तिकारी पत्रकार संघद्वारा भ्रर्तसना

यसैबीच क्रान्तिकारी पत्रकार संघले बस्ताकोटीलाई कुटपीट गर्नेहरुलाई कडा कारबाही गर्न र पत्रकार लगायत सबैलाई सुरक्षा प्रदान गर्न सरकारसँग माग गरेको छ । संघका अध्यक्ष गोविन्द आचार्यले विहीबार विज्ञप्ति निकालेर यस्तो माग गरेका हुन् ।

‘घटनालगत्तै घाँसा प्रहरी चौकीमा जानकारी गराउँदा पनि वास्ता नगरेको तथा स्थानीय प्रहरीहरु आक्रमणकारीकै साथमा लागेर सँगै गएको घटनाले प्रहरी प्रशासनको रवैया स्पष्ट गरेको छ,’ आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन उक्त आक्रमणको घोर निन्दा र भ्रर्तसना गर्दै दोषीलाई पक्राउ गरी तत्कार कारवाहीको माग गर्दछ ।’

साथै आक्रमणकारीको संरक्षण गर्ने स्थानीय प्रहरीमाथिसमेत छानविन र कारवाहीको माग गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us