चुनावका पक्षधरबीच झडप रोक्न प्रचण्डको अपिल

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ३:३६ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक–एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका पक्षधरहरुको झडप तत्काल रोक्न अपिल गरेका छन् । संविधानसभा निर्वाचनलाई नयाँ संविधान निर्माण गर्नका लागि सहमति र सहकार्यको आवश्यकतामा जोड दिदै निर्वाचनका पक्षधर शक्तिहरुबीचको झडप तत्काल बन्द गर्न प्रचण्डले आह्वान गरेका हुन् ।PushpaKamalDahalPrachanda

‘निर्वाचनका पक्षधर राजनीतिक शक्तिहरु झडपमा उत्रनु राम्रो हुँदैन । हाम्रो पार्टीलाई म अपिल गर्दछु कि झडपको अवस्था आउने गतिबिधि तत्काल बन्द गर्नुस्,’ प्रचण्डले बिहिवार काठमाण्डु टुडेसँगको कुराकानीमा भने ‘अरु पार्टीले पनि आफ्ना कार्यकर्तालाई संयमित हुन अपिल गरुन् ।’

प्रचण्डले आफ्नो पार्टीका तर्फबाट स्वस्थ र सौहार्दपूर्ण वातावरणमा प्रतिस्पर्धा गरी निर्वाचन अभियान सञ्चालन गर्न कार्यकर्ताहरुलाई निर्देशन दिइसकिएको प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई पनि जानकारी गराएका छन् । केहि दिन यता निर्वाचनका पक्षधर राजनीतिक शक्तिहरुका वीचमा झडपका घटना हुन थालेका उजुरी निर्वाचन आयोगमा पर्न थालेका छन् । प्रचण्डले भने, ‘म झडपका घटना रोक्न आजैदेखि अपिल गर्दछु ।’ प्रचण्डले बिहिवारदेखि धवलागिरीका बिभिन्न जिल्लाहरुका चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

प्रचण्ड देश दौडाहामा,सुशील र झलनाथ आफ्नो निर्वाचन क्षेत्रमा

काग्रेस सभापति शुसील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित रहे पनि अध्यक्ष प्रचण्डले भने देशभर चुनावी अभियानमा सक्रियता देखाएका छन् । संविधानसभाबाट पार्टीलाई बहुमत दिलाउन भन्दै प्रचण्डले देशव्यापी दौडाहा शुरु गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए । पछिल्ला दश दिनमा प्रचण्डले काभ्रे, दोलखा, काठमाण्डु,ताप्लेजुङ, सोलुखुम्बु, ओखलढुंगा, सिरहा, सिन्धुली, उदयपुर,सुनसरी, मोरङ, कैलाली, डडेल्धुरा, डोटी, बाजुरा र अछाम पुगेर  भिन्दा भिन्दै चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा घर दैलो अभियान समेत प्रचण्डले जारी राखेका छन् । प्रचण्ड काठमाण्डु क्षेत्र नम्वर १० र सिरहा क्षेत्र नम्वर ५ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

तिहार लगत्तै प्रचण्डले मेची–महाकाली अभियानमा आफ्नो समय खर्चिनेछन् । एमाओवादीले २० देखि २६ कार्तिकसम्म सञ्चालन गर्ने मेचीमहाकाली अभियानको कार्यतालिका काठमाण्डु टुडेमा प्रकाशित छन् । त्यसबेला राजमार्ग आसपासमा झन्डै एक सय चुनावी सभा हुनेछन् र अधिकाँश सभामा प्रचण्ड आफै सहभागी बन्नेछन् । प्रत्येक दिन फरक–फरक जिल्लामा पुगेर उनले चुनावी प्रचार गरेका छन् । कार्यकर्ताहरुसँगका भेटघाट पनि गरिरहेका छन् । प्रचण्डले पार्टीको प्रतिबद्धता–पत्र सार्वजनिक गरेपछि आफ्नो अभियान शुरु गरेका थिए ।

निर्वाचनबाट माअ‍ोवादीको बहुमत र संघीयता पक्षधरको दुई तिहाई बहुमतलाई एमाओवादीले लक्ष्य बनाएको छ । त्यसैका लागि प्रचण्डले आफ्नो दौडाहा जारी राखेका छन् । प्रचण्ड देश दौडाहामा लागेको कारण आफ्नो निर्वाचन क्षेत्रमा समेत प्रयाप्त ध्यान दिन पाएका छैनन् । काठमाण्डु–१० मा दिलीप महर्जन र सिराहा–५ दिलीपकुमार साह प्रचण्डका कमान्डर बनेका छन् । उनीहरुले नै अहिले ती क्षेत्रको चुनावी मोर्चा समालेका छन् ।

त्यसो त एमाओवादीले प्रचण्डकै नेतृत्वमा केन्द्रीय  वक्ता टोली पनि बनाएको छ । प्रचण्डसहित वक्ता टोलीमा डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, अमिक शेरचन, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल,हिसिला यमी, हरिबोल गजुरेल, उर्मिला अर्याल, राम कार्की, डिलाराम आचार्य, रामकुमार शर्र्मा, भीमबहादुर कडायत र पदम विश्वकर्मा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us