
सुनसरी, १४ कात्तिक– आफ्ना नेतालाई गोली हान्ने एमाले कार्यकर्तालाई कारवाही गर्न माग गर्दै संघीय समाजवादी पार्टीले धरान बजार बन्द गराएको छ ।
संघीय समाजवादी पार्टीका सुनसरी उपाध्यक्ष पारस काङमाङ राईमाथि विहीबार विहान एमाले युवा संघका धरान नगर इन्चार्ज दिवस राईले गोली हानेका थिए ।
सोही घटनाको विरोधमा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले विहान ११ बजेदेखि एकघण्टासम्म धरान बन्द आह्वान गरेको हो । दिवस राई स्थानीय ‘डन’ हुन् । उनले सामान्य भनाभन हुँदा पारसलाई ताकेर पेस्तोलले एक राउण्ड गोली हानेका थिए । तर, पारसलाई गोली लागेन र उनी जोगिए ।
गोली हाने लगत्तै दिवस फरार छन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले दिवसको समूहले प्रयोग गर्दै आएको बा २ च ९७४५ नम्बरको गाडी नियन्त्रणमा लिएको छ ।