सेनाद्वारा गाउँगाउँमा सुरक्षा गस्ती

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ३:१० मा प्रकाशित

रसुवा, १४ कात्तिक–मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको संविधानसभा निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन रसुवा जिल्लामा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ । उम्मेदवारहरु गाउँगाउँमा घरदैलो कार्यक्रममा गएकाले सम्भावित घटनाप्रति पूर्वसावधानी अपनाउँदै बस्ती बस्तीमा गस्तीको प्रबन्ध मिलाई नेपाली सेना समेतको सुरक्षा निकायलाई परिचालन गरिसकिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

घिमिरेका अनुसार रसुवामा ४२ मतदान केन्द्रबाट मतदान हुने छ । ती स्थानमा सबैखाले सुरक्षाको व्यवस्था मिलाई सकिएकाले निर्धक्कसाथ आफ्नो मताधिकारको प्रयोग गर्न उनले मतदातासामु आग्रह गरे ।

उता जिल्ला प्रहरी कार्यालय रसुवाले नयाँ भर्ना भएका म्यादी प्रहरीलाई मतदान केन्द्र सुरक्षासम्बन्धी प्रशिक्षण दिइरहेको छ । गाउँगाउँमा सुरक्षाकर्मी परिचालन भएपछि गाउँटोलमा सुरक्षा अवस्था सहज हुँदै गएको मतदाताहरुले बताएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us