प्रचण्डलाई रोक्न ३ जिल्ला बन्द

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते २:०५ मा प्रकाशित

Prachandaम्याग्दी, १४ कात्तिक–नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले विहीबाार म्याग्दीलगायत धौलागिरि अञ्चलका पर्वत र बागलुङ जिल्लामा यातायात सेवा बन्द गराएको छ । बन्दका कारण म्याग्दीका सबै सडकमा यातायात सेवा ठप्प बनेको छ । बिहानैदेखि लामो तथा छोटो दूरीमा सवारीसाधन नचल्दा काम विशेषले हिँडेकाहरु समस्यामा परेका छन् ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रमलाई असफल बनाउन भन्दै मोर्चाले यातायात बन्द घोषणा गरेको हो । अध्यक्ष प्रचण्डले बिहीबार दिउँसो बेनी, बागलुङ र कुस्मामा आयोजना हुने छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

मोर्चाका जिल्ला संयोजक तथा नेकपा–माओवादी म्याग्दीका सहइन्चार्ज मीनबहादुर बानियाँले मुख्य चार राजनीतिक दलका नेतृत्वलाई जिल्ला प्रवेशमा निषेध र अवरोध गर्ने कार्यक्रमअनुसार यातायात बन्द आह्वान गरेको बताए ।

एमाओवादी कार्यकर्तामाथि कुटपीट

यसैबीच म्याग्दीको सिङ्गामा बुधबार राति एनेकपा माओवादीका कार्यकर्तामाथि कुटपिट भएको छ । बरङ्जाका टेक सापकोटा र अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला सहसचिव डण्डपाणि सापकोटामाथि बुधबार साँझ ८ बजे सिङ्गामा कुटपिट भएको एनेकपा माओवादी एरिया संयोजक कुशल पौडेलले जानकारी दिए । उनीहरु अध्यक्ष प्रचण्डको उपस्थितिमा बिहीबार बेनीमा हुन लागेको आमसभाको तयारीमा थिए ।

घटनामा संलग्नको पहिचान नभए पनि एरिया संयोजक पौडेलले नेकपा–माओवादीका कार्यकर्ताले कुटपिट गरेको बताए । जिल्ला प्रहरी कार्यालय म्याग्दीले घटनामा संलग्न हुनेहरुको खोजी भइरहेको जनाएको छ । घाइते टेक सापकोटाको जिल्ला अस्पताल बेनीमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us