साहित्यकार जगदीश घिमिरेको निधन

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ४:५७ मा प्रकाशित

Jagadish-Ghimireकाठमाण्डु, १४ कात्तिक–रक्त क्यान्सरबाट लामो समयदेखि पीडित साहित्यकार जगदीश घिमिरेको ६८ बर्षको उमेरमा विहीबार विहान निधन भएको छ । काठमाण्डुको चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा विहान चार बजे उनको निधन भएको हो । उनको विहीबारै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

‘माइलोमा’ भन्ने रक्त क्यान्सरबाट पीडित घिमिरेले त्यसको उपचारमा भोग्नु परेको दुःख–कष्टको मार्मिक वर्णन ‘अन्तर्मनको यात्रा’मा गरेका छन् । ‘अन्तर्मनको यात्रा’ उनको निकै चर्चित कीर्ति हो । उनले लिलाम, सकस, साबिति लगायत उपन्यास पनि लेखेका छन् ।

भयावह रोगको आक्रमणपछि पनि उनमा वैराग्य र विचलित मानसिकता देखिएको थिएन ।

विक्रम संवत २००२ सात चैत २८ गते रामेछाप जिल्लाको मन्थलीमा जन्मिएका घिमिरे काठमाण्डुको चोभारमा बस्दै आएका थिए । उनले प्रारम्भिक शिक्षा नेपाल र उच्च शिक्षा भारत तथा बेलायतबाट गरेका थिए । सानैदेखि उनको रुचि साहित्य र पत्रकारितामा थियो । उनले समाजशास्त्रमा एम. ए. र जनसंख्यामा पोष्टग्राजुएट डिप्लोमा गरेका छन् ।

एबीसी नेपालमा कार्यरत उनकी पत्नी दुर्गा घिमिरे ती प्रथम महिला मध्येकी हुन् जसले बेचिएका नेपाली चेलीबेटीलाई मुम्बईबाट उद्धार गरेर ल्याउने साहसिक काममा अग्रणी भुमिका खेलेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us