फेरी बगेपछि तीन जिल्ला यातायातबाट विच्छेद

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते १:५८ मा प्रकाशित

ओखलढुङ्गा, १४ कात्तिक–सुनकोसी नदीमा सञ्चालनको तयारीमा रहेको फेरी बाढीले बगाएपछि माथिल्लो सगरमाथाका तीन जिल्ला राजमार्गसँगको यातायातबाट विच्छेद भएका छन् । गत असोज ३१ गते नदीमा आएको बाढीले सञ्चालनको तयारीमा राखेको फेरी बगाएपछि ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ गरी तीन पूर्वी पहाडी जिल्ला राजमार्गबाट विच्छेद भएका हुन् ।

उदयपुरको लेखानी र ओखलढुङ्गाको टोक्सेल जोड्ने सुनकोसी नदीको फेरी सञ्चालन नहुँदा उदयपुरको कटारीबाट सदरमुकाम ओखलढुङ्गा आउन नदी वारिपारि गरेर दुईपटक सवारी परिवर्तन गर्नुपर्ने भएको छ । फेरी नहुँदा खाद्यन्न ढुवानीमा समेत समस्या भएको छ । अब सुनकोसीमा पुल नबनुन्जेल राजधानी र तराईबाट पहाडी तीन जिल्लामा सिधा सवारी सञ्चालन हुन सक्दैन । पक्की पुलका लागि ठेक्का लागेको दशक बिते पनि अझै सम्पन्न नभएकाले सर्वसाधारणले यस्तो समस्या बर्सेनि भोग्दै आउनुपरेको छ ।

वाइबा कन्स्ट्रक्सनले ठेक्का लिएको पक्की पुल ठेकेदार र प्राविधिक दुवैको कमजोरीका कारण लामो समयदेखि निर्माण हुन नसकेको हो । आयोेजनाका इन्जिनियर अर्जुन अर्यालले यो वर्षमै पुल निर्माण सकिने जानकारी दिए । नदीमा अस्थायी बेलिब्रिज बनाउने ठेक्का लागे पनि पानीको बहाव नघटेपछि काम सुरु भएको छैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us