समानुपातिक उम्मेदवार विरुद्धको उजुरीमा छानविन

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ३:०४ मा प्रकाशित

nirbachan-aayogकाठमाण्डु, १४ कात्तिक–निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारहरुमाथि परेको दावी विरोधको उजुरीको छानविन जारी राखेको छ । आयोगले विहीबारदेखि आउँदो बुधबारसम्म उजुरी छानविन जारी राख्ने भएको हो । दावी विरोधको निवेदनउपर १४ गतेदेखि २० गतेसम्म उम्मेदवारको योग्यतासम्बन्धी जाँचबुझ गरी निर्णय गर्ने आयोग प्रवक्ता बिरबहादुर राईले जानकारी दिए ।

समानुपातिक तर्फका उम्मेदवार माथि दावी विरोध हाल्ने अन्तिम दिन बुधबारसम्म ६ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । जसमा एकीकृत नेकपा माओवादीका उम्मेदवार बालकृष्ण ढुङ्गेलविरुद्ध एमाले नेतृ रामकुमारी झाँक्रीले दावी विरोधको निवेदन दर्ता गरेकी छन् । यसैगरी एमाओवादीकै उम्मेदवारद्वय अनिताकुमारी परियार र धनमाया वि.क. खनालविरुद्ध श्याम कृष्ण विश्वकर्माबाट दाबी विरोध निवेदन पेश भएको छ ।

त्यस्तै समाजवादी जनता पार्टीका रिता थापामगरविरुद्ध लैलाकुमारी गहतराजबाट, एमाओवादीका उम्मेदवार हरिराम श्रीपाइलीविरुद्ध संगीता तामाङबाट, लिग नेपाल शान्ति एकता पार्टीका उम्मेदवार विमला लक्ष्मी शाहविरुद्ध हिराचन्द्र चौलागाईबाट र उषा साह (फकिर) विरुद्ध मोहम्मद जाकीर हुसैनबाट दाबी विरोध निवेदन पेश भएको आयोगले जनाएको छ ।

यसैबीच आयोगले आचारसंहिता विपरीत सडक विभाग काठमाडौंका इन्जिनियर कामेश्वर साहले पदीय आचरण र मर्यादाविपरीत काम गरेकाले तीन दिनभित्र निर्वाचन आयोगमा जवाफ पेश गर्न आदेश दिइएको छ । इन्जिनियर साह मधेसी फोरम नेपाल (लोकतान्त्रिक) को घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी भई तस्बिरसहितको समाचार प्रकाशित भएकाले आयोगले यस्तो आदेश दिएको आयोगका प्रवक्ता राईले जानकारी दिए ।

महिला आयोगबाट निर्वाचनका विभिन्न प्रक्रियामा लैङ्गिक पक्षको अध्ययन गर्न सहमति प्रदान गर्ने र अनुगमनकर्तालाई परिचयपत्र उपलब्ध गराउने निर्णय पनि आयोगले गरेको छ । अब राष्ट्रिय महिला आयोगले महिला अधिकार क्षेत्रमा काम गर्ने विभिन्न २३ गैरसरकारी संस्था, सञ्चार गृहको संलग्नतामा निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचनपश्चात्मा अनुगमन गर्नेछ ।

यसैबीच सोबारदेखि परिचय पत्र छपाईको काम थालेको आयोगले १० वटा जिल्लाको मतदाता परिचयपत्र छपाईको काम सकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us