उम्मेदवारको सुरक्षामा ध्यान दिन निर्देशन

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते १६:४२ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक–मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संबिधानसभा सदस्यका उम्मेदवार र मतदाताको सुरक्षामा ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिएका छन । पछिल्लो सुरक्षास्थितिको समीक्षा गर्न आफ्नो कार्यकक्षमा बोलाइएका चारवटै सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकमा अध्यक्ष रेग्मीले त्यस्तो निर्देशन दिएका हुन । Khilaraj-Regmi
आसन्न निर्वाचन शान्तिपूर्ण एवम् भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र विश्वसनीय ढङ्गले सम्पन्न गर्न अवलम्बन गरिने आवश्यक सुरक्षा रणनीतिबारे छलफल भएको अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले बताए ।
गौतमले जारी गरेको विज्ञप्तिमा बैठकमा उम्मेदवारहरुको सुरक्षा, निर्वाचनसम्बन्धी कार्यक्रमको सञ्चालन एवम् भयरहित वातावरणमा निर्धक्क भएर मतदान गर्न पाउने नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा छलफल भएको उल्लेख छ ।
बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरे, मुख्यसचिव लीलामणि पौडेल, प्रधानसेनापति गौरवशम्शेर जबरा, प्रहरी महानिरीक्षक कुवेरसिँह राना, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक मोतिबहादुर गुरुङ्लगायत सुरक्षा क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारीको उपस्थिति थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us