१८ बर्ष नपुग्दै आमा बन्छन् ७३ लाख युवती

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते १६:४५ मा प्रकाशित

लन्डन–संयुक्त राष्ट्र सङ्घले विकासशील मुलुकमा प्रतिवर्ष अठार वर्ष नपुगेका ७३ लाख नवयुवती आमा बन्दा उनीहरूको पीडा तथा मृत्युको जोखिम बढेको चेतावनी दिएको छ । संयुक्त राष्ट्र सङ्घ जनसङ्ख्या कोष (युएनएफपीए)ले बुधवार सार्वजनिक गरेको प्रतिवेदनले त्यस्तो चेतावनी दिएको हो ।

प्रतिवेदनमा सामाजिक प्रवृत्तिमा परिवर्तनले मात्र यो समस्या समाधान गर्नसक्ने जनाइएको छ । त्यस्ता युवती आमा अफ्रिकी सहारा उपक्षेत्र र दक्षिण एसियामा बढी रहेको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले बङ्गलादेश, चाड, गिनी, माली, मोजाम्बिक र नाइजरमा १० प्रतिशत नवयुवती १५ वर्ष नपुग्दै आमा बन्ने गरेको जनाएको छ ।
कोषले विश्व जनसङ्ख्याको अवस्था नामक वार्षिक प्रतिवेदनमा विश्वमा प्रति वर्ष १० देखि १९ वर्ष उमेर समूहका ७० हजार बालिकाको गर्भवती हुँदा र शिशु जन्माउँदाको जटिलताको कारण मृत्यु हुनेगरेको उल्लेख गरेको छ ।

प्रतिवेदनमा धेरै नवयुवतीले शिशु जन्माउनै नसकेको र उनीहरूको शरीर शिशु जन्माउन तयार नभएको अवस्थामा निकै पीडा भोग्ने गरेको उल्लेख गरिएको छ । अझ यस्ता नवयुवतीलाई छिटै विद्यालय छोड्न लगाउँदा उनीहरूले कठिन भविष्य भोग्ने गरेको उल्लेख गरेको छ ।

युएनएफपीएले यो विश्व्यापी रूपमा निकै ठूलो समस्या भएको र यसलाई ध्यान दिनु आवश्यक भएको उल्लेख गरेको छ । यस संस्थाले यसका लागि यी नवयुवती मात्र जिम्मेवार नभएको कुरा बुझिदिन सरकार तथा नागरिक समाजलाई आग्रह गरेको छ ।

गरिबी, कमजोर शिक्षा, परिवार नियोजनका साधनको बारेमा जानकारी दिने कुराको अभाव तथा बालविवाहको परम्पराका कारण १० मध्ये नौ यस्ता नवयुवतीले औपचारिक विवाहबाटै सन्तान जन्माउने बताइएको छ । यहाँ उनीहरूले यौनजन्य हिंसा पनि भोग्नुपर्ने देखिएको छ ।

लन्डनमा ‘‘मदरहुड इन चाइल्डहुड’’ नामक प्रतिवेदन सार्वजनिक गर्नुपूर्व युएनएफपीएका कार्यकारी निर्देशक बाबाटुन्ड ओसोटिमेहिनले प्रायः समाजले यी बालिकामाथि नै उनीहरू गर्भवती भएको दोष लगाउने गरेको बताए । उनले वास्तवमा नवयुवती अवस्थामा गर्भवती हुनुपर्ने कुरा उनीहरूको आफ्नै चाहना नभएको र यो उनीहरूको चाहनाको अभाव तथा बालिकाको नियन्त्रणको परिस्थितिभन्दा पनि बाहिरको अवस्था भएको बताए ।

स्वास्थ्य सर्वेक्षणमा विकासशील मुलुकमा २० देखि २४ वर्ष उमेर समूहकाका १९ प्रतिशत महिलाले पहिलो शिशुको जन्म १८ वर्षपूर्व दिएको जानकारी दिएका छन् । यसले यी महिलाको सङ्ख्या सन् २०१० को जनसङ्ख्याको आधारमा तीन करोड ६४ लाख भएको देखिएको छ ।

यीमध्ये एक करोड ७४ लाख महिला दक्षिण एसियामा बसोबास गरेको र एक करोड एक लाख अफ्रिकी उपसहारा क्षेत्रमा बसोबास गर्ने गरेको देखिएको छ । तीमध्ये ४५ लाख महिला ल्याटिन अमेरिकी तथा क्यारेबियन क्षेत्रमा बसोबास गर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यी तथ्याङ्कबाट यस प्रतिवेदनका लेखकले ७३ लाख बालिकाले उनीहरू आफैँ बालबालिका रहेको अवस्थामा आमा बन्ने गरेको धारणा राखेका छन् । यी मध्ये २० लाख बालिकाको उमेर १४ वर्षभन्दा कम रहेको पनि उनीहरूले धारणा राखेका छन् ।

यस प्रतिवेदनमा दक्षिण एसियामा २९ लाख बालिकाले उनीहरूले १५ वर्ष उमेर नपुग्दै शिशु जन्माएको देखिएको छ भने अफ्रिकी उपसाहारा क्षेत्रमा यो सङ्ख्या १८ लाख र ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्रमा पाँच लाख देखिएको छ ।

प्रतिवेदनमा यी बालिकाले आमाको मृत्युको जोखिम निकै बढाएको र उनीहरूले शिशु जन्माउँदा भोग्नुपर्ने पीडाको अवधि पनि लम्बिएको उल्लेख छ । यस्ता गर्भका प्रायः शिशुको मृत्यु हुने गरेको र शल्यक्रिया नगरिए आमाले जन्म दिन नसक्ने अवस्था देखिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । सानै उमेरमा शिशु जन्माउने कार्यले यी बालिकाको जीवनभर वार्षिक आयमा पनि कमी हुने देखिएको छ । विकासशील मुलुकमा हाल यसरी कम उमेरमा शिशु जन्माउने महिलाको सङ्ख्या घट्न लागेको देखिएको छ ।

कम उमेरमा आमा बन्ने सङ्ख्या नाइजरमा सबैभन्दा अधिक (५१ प्रतिशत) देखिएको छ भने त्यसपछिको स्थान चाड (४८ प्रतिशत), माली (४६ प्रतिशत), गिनी (४२ प्रतिशत) मोजम्बिक (४०) प्रतिशत देखिएको छ ।

नवयुवती आमा बन्ने कुरा विकसित मुलुकमा पनि देखिएको छ तर त्यो केवल पाँच प्रतिशत देखिएको छ । विकसित मुलुकमा यो सङ्ख्या ६ लाख ८० हजार देखिएको छ भने यसको आधा अमेरिकामा बसोबास गर्छन् ।

सबै मुलुकमा गरिब, कमजोर शिक्षा प्राप्त गरेका तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने बालिका छिटै आमा बन्ने गरेको देखिएको छ ।

युएनएफपीएले बालिकालाई विद्यालयमा कायम गर्न, उनीहरूलाई यौनजन्य शिक्षा दिन, बालविवाह अन्त्य गर्न, लैङ्गिक प्रवृत्ति परिवर्तन गर्न, समानतालाई ध्यान दिन तथा कम उमेरका आमालाई सहयोग गर्न आग्रह गरेको छ ।

नाइजेरिया:जहाँ २५० डलरमा शिशु बेचिन्छ,शिशु कारखानाबाट ६ गर्भवती बालिका मुक्त

नाइजेरियाका प्रहरीले तेलधनी नगर पोर्ट हारकोर्टमा एक शिशु कारखानामा छापा मारी ६ जना गर्भवती बालिकालाई नियन्त्रणमा राखेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

इमो राज्यका प्रहरी प्रवक्ता जोय एलोमोकोले गत साता एक गैरकानुनी मातृशिशु स्याहार केन्द्रमा छापामारी विभिन्न चरणका गर्भ रहेका ६ बालिकालाई उद्धार गरेको बताइन् ।
उनले सबैभन्दा कम उमेरका बालिकाको उमेर १४ रहेको उल्लेख गरिन् । उनले उक्त केन्द्रका मालिकलाई पक्राउ गरिएको बताइन् । अक्टोबर १५ मा एक बालिकालाई एक शिशु लिएको अवस्थामा फेला पारिएपछि पोर्ट हारकोर्टको उक्त केन्द्रमा छापा मारिएको एलोमोकोले बताइन् ।

केन्द्रका मालिकले उक्त केन्द्र सञ्चालन गर्ने कुनै अनुमति प्राप्त नगरेको बताइएको छ । उद्धार गरिएका बालिकाहरूले आफूहरूलाई त्यहाँ बच्चा जन्माउन राखिएको र जन्मने शिशुलाई पछि बिक्री गरिने जानकारी दिएको एलोमोकले उल्लेख गरिन् ।

नाइजेरियाको प्रहरीले हालका वर्षहरूमा विशेष गरी मुलुकको दक्षिणपूर्वीभागमा अनेकौ शिशु कारखाना फेला पार्न थालेका छन् । यहाँ बालक शिशुलाई २५० अमेरिकी डलरमा बिक्री गर्न सकिन्छ भने बालिका शिशु केही कम मूल्यमा बिक्री हुन्छन् ।

नाइजेरियामा जालसाजी र लागुपदार्थको ओसारपसारपछि शिशु बिक्री तेस्रो सबैभन्दा बढी हुने अपराध भएको जानकारी संयुक्त राष्ट्र सङ्घले दिएको छ ।  नाइजेरिया अफ्रिकाको सबैभन्दा बढी तेल उत्पादन गर्ने मुलुक हो तर यहाँका १६ करोड जनतामध्ये प्रायः प्रतिदिन दुई डलरभन्दा कम आम्दानीमा बाँच्ने गर्छन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us