बैद्यका कार्यकर्ताको मत पाउने खनालको आशा

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते १५:०१ मा प्रकाशित

Jhala-Nath-Khanalइलाम, १३ कात्तिक– नेकपा एमाले अध्यक्ष तथा इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले नेकपा–माओवादीले चुनाव भाँड्नुभन्दा एमालेलाई सहयोग गरे चुनावपछि उनीहरूलाई सहयोग गर्ने वचनबद्धता प्रकट गरेका छन् ।

उनले भने, ‘मुलुक चुनाव केन्द्रित भइसक्यो, चुनाव बिथोल्नुभन्दा हामीलाई सघाउनुस्, एमाले सहयोग गर्न प्रतिबद्ध छ ।’ इलाम क्षेत्र नं १ अन्तर्गत आज लक्ष्मीपुर गाविसमा आयोजित चुनावी कार्यक्रममा बोल्दै अध्यक्ष खनालले भन, ‘उनीहरू जे भन्नुहुन्छ त्यो गर्नुहुन्न, जे भन्नुहुन्न त्यो गर्नुहुन्छ । गोलमेच बैठकको आयोजना गर्नु भनेको अहिलेको परिस्थितिसँग नमिल्ने कुरा हो ।’

अघिल्लो संविधानसभाबाट एमाओवादी र नेपाली काँग्रेसका कारण संविधान बन्न नसकेको आरोप लगाउँदै उनले एमालेले जिते मात्र संविधान बन्न सक्ने जिकिर गरे । अध्यक्ष खनालले आगामी मङ्सिर ४ गते हुने निर्वाचनबाट एमाले देशकै ठूलो पार्टी बन्ने ठोकुवा समेत गरे ।

दुई सातादेखि अध्यक्ष खनाल गोर्खे, पशुपतिनगर, इरौंटार, जिर्मले, कन्याम, फिक्कल, पञ्चकन्या, शान्तिपुर, लक्ष्मीपुर गाविसमा मतदाता घरदैलो अभियान तथा चुनावी सभामा सहभागी भइरहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us