
म्याग्दी, १३ कात्तिक– एकीकृत माओवादीका वरिष्ट केन्द्रीय सदस्य एवं म्याग्दी जिल्लाका प्रत्यक्ष उम्मेदवार लोकेन्द्र विष्ट मगरले गोलमेचको प्रस्ताव बेमौसमी बाजा भएको जिकिर गरेका छन् ।
विष्टले चुनावी सरगर्मी देशभर तातिसकेपछि गोलमेचको कुरा गरेर वैद्य माओवादीले बार्गेनिङ गर्न खोजेको आरोप लगाउँदै चुनाव नबिथोल्न आग्रह आग्रह समेत गरेका छन् । क्रान्तिकारी पत्रकार संघ म्याग्दीले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘संविधानसभाको दोस्रो चुनावले देशैभरी सरगर्मी ल्याएको छ, त्यही सरगर्मीमा म्याग्दी पनि तातेको छ । वैद्यजीहरुले भनेजस्तो गोलमेचको बाजा बजाउने मौसम गइसक्या, अहिले चुनावको बाजा बजाउने बेला हो ।’
म्याग्दीमा कांग्रेस एमाले लगायतका दलहरुले आचारसंहिता उल्लंघन गर्दै आएको भन्दै आफुहरु चुनावी आचारसंहिता पालनाको पक्षपाती भएको नेता विष्टले बताए । ‘आचारसंहिता देखाउने दाँत मात्रै होइन, सबैलाई लागु हुनुपर्छ ।’
देशभर बैद्य माओवादीले एमाओवादीलाई आक्रमणको निशाना बनाईरहेको प्रसंगमा उनले भने, ‘हामीले नसकेर हैन, संघर्षको रुप बदलेको हुनाले कसैलाई खोजेर आक्रमण गर्दै हिँड्दैनौं’ ।’ वैद्य माओवादीको धौलागिरी बन्दले आफूलाई दुःखित बनाएको भन्दै चुनौतीका बाबजुद अध्यक्ष प्रचण्डबाट सम्वोधन हुने बेनीबजारको आमसभालाई जसरी पनि सफल पार्ने उनको आह्वान थियो ।
त्यस्तै म्याग्दी जिल्लामा कांग्रेस, एमाले र राप्रपा गरी तिनै दल मिलेपनि एमाओवादीलाई हराउन नसक्ने उनले ठोकुवा गरे । सोही कार्यक्रममा बोल्दै एमाओवादीका केन्द्रीय सदस्य एवं म्याग्दीका संयोजक गोविन्द पौडेलले कांग्रेस एमाले र राप्रपा जस्ता दलहरुले जिल्लामा पैसा बा“डेको प्रमाण आफूस“ग भएको दावी गरे ।