राष्ट्रलाई एकताबद्ध बनाउन चाहन्छन प्रचण्ड

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते १५:२४ मा प्रकाशित

PushpaKamalDahalPrachandaबनेपा, १३ कात्तिक- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रलाई एकीकृत गराउन जिम्मेवारी लिन चाहेको बताएका छन् । पृथ्वीनारायण शाहले भुरे, टाकुरे राज्यलाई एकीकरण गरेजस्तै आफूले राष्ट्रलाई एकीकृत गर्न चहेको प्रचण्डले बताएका हुन् ।

चुनाव बहिष्कारको घोषणा गर्दै बिथोल्ने गतिविधि गरिरहेका वैद्य माओवादीले आह्वान गरेको बन्दका वावजुद पनि बनेपा पुगेका प्रचण्डले भने, ‘यो संविधानसभा निर्वाचन अन्तिम अवसर हो, संघीयतामार्फत मात्र राष्ट्रिय एकता सम्भव भएकोले पहिचानसहितको संघीयता देशले मागेको हो ।’

काभ्रेको पाँचखालमा एमाओवादी क्षेत्र नं ४ ले आयोजना गरेको चुनावी सभालाई बुधबार सम्बोधन गर्दै उनले संघीयतामार्फत मुलुकलाई आफ्नो नेतृत्वमा एकीकृत गर्न चाहेको बताएका हुन् । हेटौंडा महाधिवेशनले गरेको निर्णयपछि मात्रै प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउन अन्य दलहरु सहमत भएर मात्रै निर्वाचन सम्भव भएको पनि उनले जिकिर गरे ।

प्रधानमन्त्री हुँदा पाँचखाललाई विशेष आर्थिक क्षेत्रको रुपमा अघि बढाउन चीन सरकारसँग कुराकानी भएको जनाउँदै प्रचण्डले संविधान बनाउने सबैभन्दा वैधानिक विधि नै संविधानसभा भएको उल्लेख गरे । उनी फिस्टेल एयरको हेलिकोप्टरबाट चुनावी सभालाई सम्बोधन गर्न पाँचखाल आएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us