चोरी शिकारीमा भारतीयको संलग्नता बढी

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते ९:३९ मा प्रकाशित

कञ्चनपुर, १३ कात्तिक- सीमा क्षेत्रमा हुने वन्यजन्तु र वन पैदावारको अवैध चोरी सिकारीमा भारतीय नागरिकको बढी संलग्नता हुने गरेको पाइएको छ । नेपाल–भारतका वन संरक्षणमा संलग्न पदाधिकारीहरुको संयुक्त गोष्ठिमा सो निश्कर्ष आएको हो ।

चोरी शिकारी रोक्नका लागि पहल गर्ने बताउँदै दुबै देशका पदाधिकारी प्रतिवद्धता समेत व्यक्त गरेका छन् । स्थानीय नेपाली समुदायलाई भारतीय दुधुवा नेसनल पार्कका पदाधिकारीले अनावश्यक दुःख दिने कुरा उल्लेख गर्दै जैविक विविधता मञ्चका उपाध्यक्ष किसन परियारले यस्ता कार्य रोक्नका लागि भारतीय पदाधिकारीले पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

सोही संस्थाले आयोजना गरेको गरेको गोष्ठीमा दुधुवा नेसनल पार्कका वार्डेन अखिलेस जैसवालले सीमा क्षेत्रमा हुने अवैध वन पैदावार र वन्यजन्तुको चोरी सिकारी रोक्ने कार्यलाई गम्भीरताका साथ लिएको बताएका छन् । यसका लागि नेपाली अधिकारीको समन्वयात्मक भूमिका अपरिहार्य हुने उनको भनाई थियो । दुधुवा नेसनल पार्कका नजिकका नेपाली जनतासँग समेत समन्वय गरेर संरक्षणका कार्यक्रम गर्दा सहभागी गराइने उनले प्रतिबद्धता जाहेर गरे ।

बुधबार सकेको गोष्ठीका सहभागीले भारतको कतरनीया वन्यजन्तु आरक्षको स्थलगत निरीक्षणसमेत गरेका थिए । गोष्ठीका सहभागीले प्रत्येक महिना नेपाल भारतका अधिकारीहरु सम्मिलित गराई संरक्षणका कार्यक्रम गर्ने सहमति समेत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us