निर्यातमुखी अर्थतन्त्रमा अर्थमन्त्रीको जोड

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते ९:११ मा प्रकाशित

shankar koiralaकाठमाण्डु, १३ कात्तिक– अर्थ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री शङ्करप्रसाद कोइरालाले मुलुकको आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाई क्रमशः निर्यातमुखी बनाउन जरुरी भएको बताएका छन् ।

अर्थमन्त्रीले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन प्रतिस्पर्धात्मक र तुलनात्मक लाभका वस्तुको प्रवद्र्धन गर्न जरुरी भएको उल्लेख गर्दै तुलनात्मक लाभका वस्तुमध्ये हस्तकला दरिलो आधार भएको बताए । वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेसट्रेड परियोजना अन्तर्गत ‘नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा प्रर्वद्धन’ विषयक कार्यक्रममा बोल्दै उनले  हस्तकला उद्योगको प्रवद्र्धनका लागि सरकारले पनि बजेट कार्यक्रममार्फत प्राथमिकता दिएको जनाए ।

व्यापार निर्यात प्रवद्र्धनका लागि सरकार पूर्वाधार निर्माणमा केन्द्रित भएको जानकारी दिँदै मन्त्री कोइरालाले प्रयाप्त स्रोत साधनको अभावमा प्रभावकारी बन्न नसकेको निकासी प्रवद्र्धन र बजारीकरणका लागि विशेष प्राथमिकताका साथ अघि बढाइएको बताए ।

त्यस्तै वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव माधवप्रसाद रेग्मीले व्यापार मुलुकको आर्थिक मेरुदण्ड भएकाले मुलुकको व्यापार घाटा कम गर्न अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय र प्रतिस्पर्धी वस्तु उत्पादन गरी निर्यात गर्न जरुरी भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us