
गोरखा, १३ कात्तिक–गोरखामा काँग्रेस नेता मीनेन्द्र रिजालमाथि अज्ञात समूहले बुधबार आक्रमण गरेको छ । प्रतिरक्षाकालागि प्रहरीले हवाई फायर गरेको छ ।
गोरखा – १ मा काँग्रेसको चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गर्दा धैरुङ बतासेमा रिजालमाथि ढुंगामुढा भएको हो । रिजाललगायत काँग्रेस नेता-कार्यकर्ता भने सुरक्षित छन् । आक्रमणबाट चारवटा मोटरसाइकलमा क्षति पुगेको छ ।
आक्रमणमा एमाओवादीको हात रहेको गोर्खा काँग्रेसले आरोप लगाएको छ । एमाओवादीले भने आरोपको खण्डन गरेको छ । गोरखा-१ मा एमाओवादीका बाबुराम भट्टराई, काँग्रेसका किरणबाबु श्रेष्ठ र एमालेका रामशरण बस्नेत उम्मेदवार छन् ।
मंगलबार काँग्रेसले पत्रकार सम्मेलन गरी आफूहरुमाथि आक्रमण केन्द्रित भएको भन्दै सरकारसँग सुरक्षा मागेको थियो ।
काँग्रेस नेता केसीको चुनावी सभामा बम
यसैबीच नुवाकोटको कुमरी गाविसमा बुधबार बिहान बम फेला परेको छ । नेपाली काँग्रेसको चुनावी कोणसभा गर्ने स्थान कुमरी गाविस -६ कोइरालेगाउँमा बम भेटिएको हो ।
सभालाई काँग्रेस नेता एवम् क्षेत्र नम्बर-१ का उम्मेदवार अर्जुननरसिंह केसीले सम्बोधन गर्ने कार्यक्रम थियो । सभास्थलमा बम भेटिएपछि स्थानीय त्रसित भएका छन् । बम निष्कृय पार्न नेपाली सेनाको टोली खटिएको छ ।
एकीकृत नेकपा माओवादीले सभा बिथोल्न बम राखेको आरोप काँग्रेसले लगाएको छ । एमाओवादीले भने आरोपको खण्डन गरेको छ । वैद्य माओवादीले पनि आफूहरुले बम नराखेको दाबी गरेको छ ।