एमाले सङ्घीयता विरोधी : पूर्वराज्यमन्त्री लामा

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते ४:४९ मा प्रकाशित

Larkel-Lama-Sindhupalchokसिन्धुपाल्चोक, १३ कात्तिक– एमालेबाट एकीकृत माओवादी प्रवेश गरेका पूर्वअर्थराज्यमन्त्री डा. लार्केल लामाले एमाले पहिचानसहितको सङ्घीयताविरोधी पार्टी भएकोले आफूले एमाले छाडेको बताएका छन् । ‘पहिचानको मुद्दामा एमाले पूरै विरोधी देखियो, उत्पीडित जातजातिलाई हेर्ने सवालमा पनि खोट देखेपछि मैले एमाले छोडेको हुँ’, लामाले भने ।

क्षेत्र नं. ३ निर्वाचन परिचालन समितिद्वारा मङ्गलबार मेलम्चीमा आयोजित नवप्रवेशीलाई स्वागत कार्यक्रममा लामाले आफू एमालेभित्र पहिचानको मुद्दामा बहस गर्दा ओझेलमा परेको र अस्तित्व रक्षाको लागि एमाओवादी प्रवेश गरेको बताए । ‘लामो समय सङ्घर्ष गरेँ तर एमाले सङ्घीयताविरोधी भएको स्पष्ट भएपछि परित्याग गरेको हुँ,’ उनले भने ।

‘म राजनीतिबाट आएको होइन र लामो समय राजनीति गर्ने सोंच पनि छैन तर उत्पीडित जातिको अधिकारका लागि बोल्ने पार्टी एमाओवादीमात्रै रहेछ,’ उनले भने, ‘एमालेको घिनलाग्दो राजनीति देखेर म छक्क परेँ, वास्तवमा एमाले त जनजातिको विरुद्धमा रहेछ ।’

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको कुरा उठाउँदा आफू एमालेबाट बहिस्कृत बन्नुपरेको पनि लामाले स्मरण गरे । यी विषय पूर्ण र संस्थागत नभएसम्म आमउत्पीडित जातजातिले मुक्ति नपाउने उनले ठोकुवा गरे । 

एमाले, काङ्ग्रेस अझैपनि २०४७ कै संविधान काँटछाँट गरेर नयाँ संविधान घोषणा गर्ने पक्षमा रहेको उनले आरोप लगाए । एमाले ब्राम्हणवादी पार्टी भएकोले इमान्दार र पहिचानको मुद्दामा बहस गर्ने सबै एमाले कार्यकर्ता एमाओवादीमा प्रवेशको लहर चल्न उनले दावी गरे । 

एमाओवादी मुख्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्डको हातबाट अबिर र माला पहिरिएर कात्तिक ५ गते लामा पार्टी प्रवेश गरेका हुन् । लामालाई स्वागत गर्दै जिल्लाका नेता तथा कार्यकर्ताले एमाले सङ्घीयताविरोधी रहेको पुष्टि भएको सन्देश आमजनतालाई सञ्चार गर्ने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us