नाटकमार्फत मतदाता शिक्षा

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते ४:०७ मा प्रकाशित

रसुवा, १३ कात्तिक–नाट्यकलाको माध्यमबाट मतदानको महत्व बुझाउने उद्देश्यले आरोहण गुरुकुलको सहकार्यमा सप्तककला केन्द्र नुवाकोटले जिल्लाका विभिन्न भागमा नाटक प्रदर्शन गरेको छ । नाटक समूहका अगुवा दामोदर खतिवडाका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत संविधानसभा निर्वाचनमा मतको महत्व, मतदान हुने समय, मतपत्रको आकार, छाप लगाउने, पट्याउने र मतमेटिकामा खसाल्ने तरिकाबारे नाटकको माध्यमबाट मतदातालाई जानकारी दिइएको छ ।

राष्ट्र सङ्घीय कार्यक्रम युएनडिपीको आर्थिक सहयोग तथा निर्वाचन आयोगको आयोजनामा बेत्रावती, धैपुङको कालिकास्थान र घुम्तीबजार तथा धुन्चेमा नाटक सम्पन्न भएको खतिवडाले जानाकारी दिए ।

केन्द्रले नुवाकोट, धादिङ, गोरखा समेतका ३० स्थानमा नाटकको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ । संविधानसभा निर्वाचनमा मताधिकार प्रयोग गर्न नाटकले सर्वसाधारणमा जागरण ल्याएको नागरिक समाजले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us