‘एमाओवादीलाई आक्रमण गर्ने काँग्रेसले माफी माग्यो’

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते ३:२१ मा प्रकाशित

नुवाकोट, १३ कात्तिक–एकीकृत नेकपा माओवादीका ताम्सालिङ राज्य समिति सदस्य अर्जुन न्यौपानेलाई नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका छन् ।

पार्टीको काममा नुवाकोटको फिकुर गाविसको सातदोबाटो गइरहेकोबेला नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. तीनका उम्मेदवार बहादुर सिंह तामाङका भतिजा अघम तामाङको नेतृत्वको समूहले न्यौपानेलाई आक्रमण गरी घाइते बनाएको हो । आक्रमणमा संलग्न तोरण तामाङलाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

न्यौपानेको नुवाकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते न्यौपानेको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुगेका एकीकृत माओवादीका नेता एवं नुवाकोट क्षेत्र नं. ३ का उम्मेदवार पोष्टबहादुर बोगटीले नेपाली कांग्रेसले पराजयको त्रासले भौतिक आक्रमण गरेको आरोप लगाए । राजनीतिक र चुनावी एजेण्डामा नेपाली कांग्रेस रक्षात्मक हुंदा भौतिक आक्रमणमा उत्रिएको उनको दावी छ ।

बोगटीले माओवादीलाई हिजो १० वर्षको जनयुद्धमा तत्कालिन सरकारले समेत पराजित गर्न नसक्दा सम्झौता गर्न बाध्य भएको स्मरण गर्न आग्रह पनि गरे । नेता बोगटीले नेपाली कांग्रेस र एमालेलाई संयमित भई आफ्ना चुनावी एजेण्डा जनता माझ राख्न पनि सुझाव दिए । बोगटीले आफ्नो पार्टी जिम्मेवार र संयमित भई देशैभर आफ्नो एजेण्डा जनअनुमोदन गर्न लागिपरेको भन्दै यसलाई कमजोरीको रुपमा नलिन चेतावनीसमेत दिए । उनले यस्तै स्थिति रहे माओवादी पनि जवाफ दिन सक्षम रहेको चेतावनी दिए ।

बहादुर सिंहले माफी मागे

यस्तै नेपाली कांग्रेसका उम्मेदवार बहादुर सिंह तामाङले घटनाप्रति माफी मागेका छन् । अबदेखि यस्ता घटना नदोहोरिने भन्दै उनले टेलिफोन गरी माफी मागेको घाइते न्यौपानेले जानकारी दिए । काँग्रेस उम्मेदवार तामाङले एमाओवादी नेता बोगटीलाई पनि टेलिफोन गरी माफी मागेका थिए ।

गत आइतबार पनि नेपाली कांग्रेसको आक्रमणबाट नुवाकोट विदुर नगरपालिकाको राइसिङमा वाइसिएलका जिल्ला नेता उज्जवल न्यौपाने घाइते भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us