प्रचण्डको कार्यक्रम विथोल्न दोलखा र काभ्रे बन्द,चरिकोटमा भेटिएको बम सेनाद्वारा निष्कृय

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते १:५५ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– चुनावको विपक्षमा रहेको नेकपा–माओवादीले बुधबार दोलखा र काभ्रे जिल्ला बन्द गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी सभा विथोल्ने उद्देश्यले जिल्ला बन्द गराइएको हो ।

एमाओवादीले बुधबार विहान काभ्रेको पाँचखाल र दिउँसो दोलखाको चरिकोटमा सभा आयोजना गरेको छ । सो सभालाई अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम छ ।

नेकपा–माओवादीले उच्चस्तरीय राजनीतिक समितिमा रहेका मुख्य चार दललाई बहिस्कार गर्ने घोषणा गर्दै ति दलका शीर्ष नेता जाने जिल्ला बन्द गर्ने घोषणा यसअघि नै गरेको थियो ।

बोतल बम

दोलखा सदरमुकाम चरिकोट नजिकै बुधबार विहान बोतल बम फेला परेको छ । पुष्पलाल राजमार्ग अन्तर्गत चरङ्गी भन्ने स्थानमा फेला परेको बमलाई नेपाली सेनाले निष्कृय पारेको छ । बोतल भित्र पाइप बम राखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा नेकपा–माओवादीको निर्वाचन बहिस्कार सम्वन्धी पर्चा भेटिएका छन् । चुनावी सभालाई सम्वोधन गर्न एमाओवादी अध्यक्ष प्रचण्ड चरिकोट जाने भएपछि वैद्य माओवादीले ठाउँ–ठाउँमा रुख ढालेर बाटो अबरुद्ध पारेका थिए । नेपाली सेना र प्रहरीको संयुक्त टोलीले बाटोको अबरोध हटाएका छन् । जिल्लामा सवारीका साधन भने चलेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us