अनिश्चितकालिन स्याङ्जा बन्द

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते ४:४८ मा प्रकाशित

syangja_mapस्याङ्जा, १३ कात्तिक–प्रहरीको गोली लागेर स्याङ्जा चापाकोटका दुईजनाको मृत्यु भएपछि बुधबारदेखि अनिश्चितकालीन जिल्ला बन्द गरिएको छ । स्थानीयसँगको झडपमा प्रहरीले गोली चलाउँदा मंगलबार चापाकोटका २१ बर्षीय सूर्य आले र १८ बर्षीय कृष्ण भट्टराईको मृत्यु भएको थियो ।

उच्चस्तरीय छानविन समिति गठन, मृतकलाई शहिद घोषणा, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, पीडित परिवारलाई रोजगारी र डीएसपी आभुषण तिमल्सिनाको बर्खास्तीको माग गर्दै जिल्ला बन्द गराइएको हो । बन्दका कारण विहानैदेखि सवारीका साधन चलेका छैनन् । बजार र शिक्षण संस्था पनि ठप्प छन् । सिद्धार्थ राजमार्ग अन्तरगत कुभिण्डे–राम्दी सडकखण्ड पनि ठप्प छ ।

गत २७ असोजमा मृत भेटिएकी चापाकोट–५ की माया विकको हत्या भएको र प्रहरीले अनुसन्धानमा चासो नदेखाएको भन्दै स्थानीयले प्रहरी चौकीमाथि ढुंगामुढा गरेका थिए । चौकीमा आक्रमण भएपछि आत्मरक्षाका लागि हवाई फायर गर्दा झुक्एिर गोली लागेको प्रहरीको दावी छ ।

घटनामा प्रहरी निरीक्षण कृष्ण थापालगायतका सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले चौकी आक्रमणमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

 स्याङ्जा घटना छानबिन गर्न समिति गठन

गृहमन्त्रालयले घटना छानबिन गरी सत्यतथ्य पत्ता लगाई सात दिनभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिमा प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्द र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक अर्जुनकुमार केसी रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us