हिंसात्मक घटनाप्रति मानवअधिकार आयोगको ध्यानाकर्षण

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते १४:४० मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनमा भइरहेको हिंसात्मक घटना तत्काल रोक्न सम्वद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।
National-Human-Rights-Commissionआयोगले मंगलबार एक विज्ञप्ति जारी गरी चुनाव प्रचार–प्रसारका क्रममा दलका कार्यकर्ताबीच मुलुकका विभिन्न स्थानमा निर्वाचन प्रक्रियामा सहभागी दलका कार्यकर्ताबीच भइरहेका झडप तथा निर्वाचन बहिस्कार पक्षमा रहेका दलहरुले प्रचार–प्रसारमा गरिरहेको अवरोधप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले निर्वाचनको निष्पक्षतामा आँच आउने गरी भएका मानवअधिकार हनन्का घटना तत्काल रोक्न पनि सबैसँग आग्रह गरेको छ । ‘राजनीतिक आस्था र सिद्धान्मा अडिग रहन पाउने सबैको नैसर्गिक अधिकार भएपनि कसैप्रति निषेधात्मक व्यवहार गरिनु तथा आक्रामक व्यवहार प्रदर्शन गरिनु मानव अधिकारको दृष्टिले निन्दनीय कार्य हो’ आयोगका कायमुकायम सचिव बेदप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दलहरुबीचको झडपको अवस्थाले आमनागरिकको मतदानमा भाग लिन पाउने नैसर्गिक अधिकारमा बन्देज लाग्ने अवस्था आएको भन्दै आयोगले मतदान गर्न पाउने जनाअधिकारको सम्मान गर्न निर्वाचन बहिस्कार अभियानमा रहेका मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलगायतका समूहलाई अपिल गरिएको छ ।

आयोगले पक्राउ परेका बहिष्कारवादी दलका कार्यकर्तालाई मानवअधिकारमैत्री व्यवहार गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us