
काठमाण्डु– एकीकृत माअोवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार बिहानै पूर्वनिर्धारित कार्यक्रमअनुसार चुनावी घरदैलो अभियानका लागि आफ्नो निर्वाचन क्षेत्र काठमाण्डु–१० को कीर्तिपुर पुगे ।
कीर्तिपुरको पाँगामा कार्यकर्ता र स्थानीयले फूल माला लगाएर उनको स्वागत गरे । उनले अन्यत्र झैं पाँगामा पनि गत संविधानसभामा आफूहरुको बहुमत नहुँदा संविधान जारी गर्न नसकिएको भन्दै यसपटक बहुमत दिन मतदातालाई अपिल गरे । कार्यक्रम सकियो ।
प्रचण्ड सुरक्षाकर्मी, निर्वाचान प्रचार–प्रसार टोली र सहयोगीसहित पार्टीको काठमाण्डु क्षेत्र नम्बर–१ ले बानेश्वरमा आयोजना गरेको चुनावीसभामा सहभागी हुन त्यतातिर हानिए । लगत्तै वैद्य माओवादीका ललितपुर सचिव विष्णुलाल महर्जन नेतृत्वमा रहेका केही कार्यकर्ताले प्रचण्डको पोष्टर च्यात्नुका साथै कालो स्प्रे छर्किदिए । कीर्तिपुरका स्थायी बासिन्दा महर्जन वैद्य माओवादीका महासचिव रामबहादुर थापाका पूर्वसहयोगी हुन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि उनी वाइसीएल ललितपुरको अध्यक्ष बनेका थिए । जब महर्जनले प्रचण्डको पोष्टर च्यातेको खबर वाइसीएल प्रवक्ता तथा उपत्यका इन्चार्ज रामप्रसाद सापकोटाले थाहा पाए, उनी करिब ५० जना कार्यकर्ताको टोलीसहित महर्जनको घर घेरा हाल्न पुगे । सापकोटाको टोली घरबाहिर निस्कन दबाब दिने र महर्जन आउन नमान्ने क्रम केहीबेर चलेपछि घटनास्थल पुगेको प्रहरीले बल्लतल्ल कुरा मिलायो र घटना साम्य भयो ।
सापकोटाले प्रहरीको रोहबरमा आइन्दा पोष्टर नच्यात्ने सर्तमा छाडिएको बताए । ‘घरदैलो अभियान सकिएलगत्तै पोष्टर बिगारेछन्’, सापकोटाले काठमाण्डु टुडेसँग भने, हामीले घरबाटै थुतेर ठीक पार्न खाजेका थियौं, तर अब त्यसो नगर्ने बताएपछि छाडिदियौं ।’ उनले १० नम्बर निर्वाचन क्षेत्रमा आइन्दा त्यसो गरिए नराम्रो हुने चेतावनी दिए । सापकोटा प्रचण्डको चुनावी प्रचार टोलीमा छन् ।