
काठमाण्डु, १२ कात्तिक । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अहिलेको निर्वाचन ‘जीवन मरणको लडाईं’ भएको बताएका छन् । परिवर्तन नचाहने र जनतालाई अधिकार दिन नचाहनेहरु यतिबेला सल्बलाइरहेको बताउँदै उनले जीवनमरणको लडाईं लड्न आग्रह गरे ।
पश्चगामी शक्तिका विरुद्ध जनता एकताबद्ध भएर लाग्नुपर्ने स्पष्ट पार्दै प्रचण्डले भने, ‘ परिवर्तनको सूत्राधारलाई विजयी गराए मात्र परिवर्तनको सपना र चाहना पूरा हुन्छ ।’ एमाओवादी निर्वाचन क्षेत्र नं ३ को जोरपाटीमा आयोजित चुनावी सभामा बोल्दै उनले स्थायी शान्ति र समृद्धिका लागि आगामी संविधानसभा निर्वाचनमा परिवर्तनकारी शक्तिलाई विजयी गराउनुपर्नेमा जोड दिए ।
‘अघिल्लो संविधानसभाबाट नेपाली जनताको पक्षका काम गर्न खोजेको, तर पश्चगमनकारी शक्तिको अवरोधका कारण काम गर्न सकिएन’, प्रचण्डले बताए, ‘मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक समृद्धि चाहिएको छ । दुबै लक्ष्य पूरा गर्नका लागि जनताले एकपटक परिवर्तनकारी शक्तिको नेतृत्वकर्तालाई मतदान गर्नुपर्ने समय आएको छ ।’