सहिद रंगशालामा व्यापार मेला

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते १०:५२ मा प्रकाशित

विराटनगर, १२ कात्तिक– मोरङ व्यापार सङ्घ र जिल्ला विकास समिति मोरङले संयुक्त रूपमा ‘विराट महोत्सव अन्तर्राष्ट्रिय व्यापार मेला’–२०७० आयोजना गर्ने भएको छ । आयोजकद्वारा आयोजित पत्रकार सम्मेलनमा मेला विराटनगरको सहिद रङ्गशाला आगामी पुस १ देखि ७ गतेसम्म रहने जनाइएको छ ।

मेलामा १५० वटा कक्ष हुने र नेपालका घरेलु, साना मझौला तथा ठूला उद्योगका अतिरिक्त पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य र अन्य उत्पादन तथा भारत, चीन, भुटान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तानलगायत देशका उत्पादन रहने मोरङ व्यापार सङ्घका अध्यक्ष अविनाश बोहराले बताए ।
नेपालका कृषिजन्य उत्पाद, हस्तकतला एवम् घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्रीको पहाडी जिल्लाका उद्योग वाणिज्य सङ्घलाई १० वटा स्टल निःशुल्क उपलब्ध गराउने व्यवस्था गराइने अध्यक्ष बोहराले भने ।

मेलामा वैदेशिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडीबुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरी र उपकरण, अटोमोबाइल, इलेक्ट्रनिक्स तथा इलेक्ट्रिकल, मोबाइल सूचान प्रविधि, गारमेन्टस तथा फुटवेयर फर्निचर तथा सिङ्गारका सामान, निर्माण सामग्री शैक्षिक, बैंक तथा वित्तीय संस्था, होटल तथा रेस्टुरेन्ट र नेपालको विविधता झल्काउने फोटो प्रदर्शनी हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us