स्याङजामा प्रहरीको गोली लागी दुई युवकको मृत्यु (अपडेटसहित)

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते १२:११ मा प्रकाशित

syanja_mapस्याङजा, १२ कात्तिक– स्याङजामा एक महिलाको मृत्यु भएको विषयलाई लिएर भएको विवादले उग्र रुप लिएपछि प्रहरीले चलाएको गोली लागी दुई युवकको मृत्यु भएको छ ।
प्रहरीको गोली लागि चापाकोटका स्थानीय २१ वर्षीय सूर्य आले र १८ वर्षीय कृष्ण भट्टराईको ज्यान गएको हो ।

आलेको घटनास्थलमै र भट्टराईको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । घटनामा अरु सात स्थानीय घाइते भएका छन् । घटनापछि चापाकोटको अवस्था तनावग्रस्त बनेको छ ।

फेरि झड हुन सक्ने आशंकामा जिल्ला प्रहरी कार्यालयका प्रमुख नायव उपरीक्षक अभुषण तिमल्सिना नेतृत्वको टोली चापाकोट पुगेको छ ।
गत २७ असोजमा मृत भेटिएकी चापाकोट–५ की माया विकको हत्या भएको र प्रहरीले अनुसन्धानमा चासो नदेखाएको भन्दै स्थानीयले प्रहरी चौकीमाथि ढुंगामुढा गरेका थिए । चौकीमा आक्रमण भएपछि आत्मरक्षाका लागि हवाई फायर गर्दा झुक्किएर गोली लागेको दाबी प्रहरीको छ ।

घटनामा प्रहरी निरीक्षक कृष्ण थापासहित निर्वाचन सुरक्षाका लागि खटिएका पाँच जना म्यादी प्रहरीसमेत घाइते भएका छन् । घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने गम्भीर अवस्थाका केहीलाई थप उपचारका लागि पोखरा लगिएको छ । प्रहरीले चौकी आक्रमणमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्रेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us